फुट नजिक सत्ता गठबन्धन ! देउवाको ग्रिन सिंग्नल कुर्दै कांग्रेस-Sutra News

फुट नजिक सत्ता गठबन्धन ! देउवाको ग्रिन सिंग्नल कुर्दै कांग्रेस

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार संकटको घेरामा तानिन थालेको छ ।



सरकार गठनका बखत झण्डै सतप्रतिशत मत प्राप्त गरेका प्रचण्ड गठबन्धन फेरबदल र आफ्नै अडानबाट पछि हट्दै जाँदा सत्ता गठबन्धनमा दरार देखिएको हो । बजेटमाथिको असन्तुष्टि देखाएर सरकार परिवर्तन गर्ने प्रयास सुरु भएको कुरालाई कांग्रेस र एमालेका उच्च तहका नेताहरूको अभिव्यक्तिले नै प्रष्ट पार्छ ।

आफू नेतृत्वको सरकार संकटमा परेको बुझेका प्रधानमन्त्री प्रचण्डले शनिबार बालुवाटारमा बैठक राखेर बजेटमाथिको असन्तुष्टि सम्बोधन गर्ने र समाजवादी मोर्चा निर्माणको औचित्यबारे कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वस्त पार्ने कोशिश भने गरेका थिए ।

स्वास्थ उपचार सकेर शुक्रबार मात्रै स्वदेश फर्किएका सभापति देउवाले शनिबार प्रधानमन्त्री निवास पुगेर सत्ता गठबन्धनका अन्य दलका नेताहरूसँगै प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । सरकार परिवर्तन गर्ने कांग्रेसको चाहनाबारे जिज्ञासा राखेका प्रधानमन्त्री प्रचण्डले देउवाबाट त्यसको जवाफ नपाएको बालुवाटार निकट स्रोतले सुत्र न्युजलाई जानकारी दिएको छ ।

शनिबारको बालुवाटार बैठकमा सत्ता गठबन्धनको अर्को घटक जनता समाजवादी पार्टी भने सहभागी भएको थिएन । सरकारले प्रस्तुत गरेको बजेटमा सत्तागठबन्धनका सहभागी सबै दलका सांसदहरू असन्तुष्ट रहेको भएपनि जसपा र एकीकृत समाजवादीको असन्तुष्टि सबैभन्दा चर्को छ ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकार परिवर्तन गर्न कम्मर कसेर लागेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारको नेतृत्व गर्न कांग्रेसलाई अनौपचारिक रूपमा प्रस्ताव नै गरेपनि देउवा मौन छन् बरु कांग्रेस संस्थापन इतर समूहका महामन्त्री गगन थापाले शनिबार सत्ता गठबन्धन टुट्न सक्ने संकेत गरेका थिए ।

सभापति देउवाले प्रचण्ड नेतृत्वको सरकारलाई निरन्तरता दिने वा नदिने कस्तो निर्णय गर्छन् अनि मात्रै सरकारबारे थप प्रष्ट हुने कांग्रेस नेताहरू बताउँछन् । ‘सभापति दिने ग्रिन सिंग्नल कुरिरहेका छौं, सभापतिले सरकार परिवर्तन गर्न सहमत हुने बित्तिकै कांग्रेस नेतृत्व मै नयाँ सरकार बन्छ ।’ एक कांग्रेस नेताले भने ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान अगाडि बढाएपछि चौतर्फी वाहीवाही कमाएको वर्तमान सरकार भुटानी शरणार्थी प्रकरणमा हाई प्रोफाइल माथि अनुसन्धान गर्न चुकेको भन्दै नागरिक स्तरबाट निरन्तर आलोचित बन्दै गएको छ । यो सँगै आन्तरिक तथा वाह्य शक्तिको चलखेलमा पर्दा सरकार संकटको डिलमा पुग्न थालेको आशंका गर्न थालिएको छ ।

कांग्रेसले नपत्याएपछि बालकोट पुगेका प्रचण्ड सत्तारोहण गर्न सफल त भए । तर, उनले एमालेसँग सम्बन्ध तोडेर गठबन्धनमा गरेको फेरबदल र देखाएको राजनीतिक बेइमानीका कारण संकटमा फसेको कतिपयको तर्क रहने गरेको छ । एमालेसँग भएको सहमति लत्याएर विश्वासको मतमा खेलेको कांग्रेसलाई अंगाल्न पुगेका उनी विभिन्न विरोध र आलोचनाको सिकार बन्न पुगेका छन् ।

प्रतिपक्षी बेञ्चमा हुनुपर्ने माओवादी केन्द्र सत्ताको बागडोर सम्हाल्दै गर्दा प्रचण्डले देखाएको राजनीतिक चातुर्यता अब विस्तारै आफ्नैविरुद्ध लागू हुने त होइन ? शंकाको सुविधा यहाँ पनि देखिन्छ । बजेटका कारण गठबन्धनमा देखिएको दरार संस्थागत बन्नेबाटोमा उद्दत देखिन्छ ।

गठबन्धन दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रचण्ड नेतृत्वको कम्युनिष्ट सरकार ढालेर एमाले अध्यक्ष केपी ओलीले कांग्रेसको नेतृत्वमा सरकार बनाउ लागेको आरोप लगाएका छन् ।

माधव नेपालले सरकारको पक्षमा वकालत गरेजस्तो गरेपनि उनले यथास्थितिमा बजेट पारित हुन नदिने निर्णय आफ्नो पार्टीबाट गराइसकेका छन् । यता, सत्तारुढ ठूलो दल नेपाली कांग्रेसले पनि एमालेसँग सरकार बन्नसक्ने अवस्थालाई नकार्न नसकिने बताउदै आएको छ । अझ, कांग्रेस महामन्त्री गगन थापाले त चुनावभन्दा पहिलेको गठबन्धनलाई अप्राकृतिक भन्दै असन्तुष्टी पोख्दै आएका छन्

उनले एक कार्यक्रममा बोल्दै ठीक ढंगले सरकार नचले अर्को सरकार बन्ने ठोकुवा नै गरिदिएका छन् । यता, एमालेले पनि प्रचण्ड नेतृत्वको सरकार लामो समय नजाने दाबी गर्दै आएको छ । सरकारले जनताका काम गर्न नसकेको, प्रधानमन्त्रीले सामान्य प्रक्रिया पनि पु¥याउन नसकेको लगायतका आरोप लगाउदै एमालेले चाहेमा सरकार ढल्ने चेतावनी दिदै आएको छ।

यसरी हेर्दा मुलुकको राजनीतिमा सरकार फेरबदलका थुप्रै सम्भावनाहरु देखिन थालेका छन् । कांग्रेस पनि समाजवादी मोर्चाका कारण बेखुस देखिन्छ । गठबन्धनभित्र मोर्चा किन भन्दै कांग्रेस वृत्तमा प्रश्न उठेको बेला प्रचण्डले शक्ति संघर्ष चर्काउने देखेपछि कांग्रेसले एमालेसँग मिलेर सरकार बनाउने पक्षमा समेत प्रयास थालिरहेको छ ।

नक्कली शरणार्थी प्रकरणबाहेक काममा प्रचण्ड विवादमा परेका छन् । त्रिविका उपप्राध्यापक प्रकरणमा होस वा अन्य सार्वजनिक विषयमा किन नहोस् ।
देखिने गरि विरोध हुने गरेको छ । प्रतिपक्षीले पनि आक्रामक विरोध गर्दा जनतामा प्रचण्ड सरकारप्रति त्यति धेरै सहानूभूति नरहने डर उत्तिकै छ ।

नागरिकता प्रमाणीकरणका कारण तराई मधेसमा देखिएको खुशी पनि यो सरकारले देखाउन नसकेको अवस्थामा सरकार संकटतर्फ उन्मुख रहेको देखिन्छ । जसकारण कांग्रेस एमालेको नेतृत्वमा सरकार बन्ने र गठबन्धनको दरार संस्थागत रुपमै सतहमा नआउला भन्न सकिन्न ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट