भन्सार विभागमा भन्सार एजेन्टका प्रतिनिधिको धर्ना-Sutra News

भन्सार विभागमा भन्सार एजेन्टका प्रतिनिधिको धर्ना

आइतबार, १० असार २०८०

आइतबार, १० असार २०८०

भन्सार एजेन्टका प्रतिनिधिहरू आजबाट आन्दोलनमा उत्रिएका छन् । सरकारले आर्थिक वर्ष २०८०/८१ को आर्थिक विधेयकमा भन्सार ऐन संशोधन गरी भन्सार एजेन्टका प्रतिनिधिहरू हटाएपछि भन्सार एजेन्टका प्रतिनिधिहरू आन्दोलनमा उत्रिएका हुन्।



आइतबारदेखि भन्सार विभाग त्रिपुरेश्वरमा उनीहरूले धर्ना दिएका छन् । भन्सार एजेन्ट प्रतिनिधि संघ संघर्ष समितिका संयोजक खड्गबहादुर कार्कीले भन्सार विभाग र अर्थ मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण र ज्ञापनपत्र बुझाएपछि पनि कुनै सुनुवाइ नभएकोले बाध्य भई आन्दोलन गर्नु परेको बताए।

सरकारको निर्णयले दुई दशकभन्दा बढी समयदेखि विभिन्न भन्सार कार्यालयहरूमा भन्सार एजेन्टको प्रतिनिधिको रुपमा काम गरिरहेका ३०० जनाभन्दा बढी प्रतिनिधि रोजगार गुमेको उनको भनाई छ ।

उनले भने, ‘सालव साली रुपमा आउने आर्थिक ऐन / नियमावलि ले विभिन्न ऐनहरूलाई संशोधन गर्ने क्रममा भन्सार ऐन २०६४ को दफा ५१ (१) को व्यवस्थामा प्रतिनिधि शब्द हटाइएको र भन्सार नियमावली २०६४ नियम ३७ को (९,१०,१२,१३ र १६) हटाईएको हुनाले हामी प्रतिनिधिहरूले भन्सार ऐन तथा नियमावली बमोजिम भन्सार महशुल तथा अन्य महशुल समेत संकलनको लागि राज्यलाई कुनै व्ययभार नपर्ने गरी गर्दै आएको रोजगारी पेशा हाल आएर गुमेको अवस्था छ। यसअघि पनि हामीले सो परिवर्तित भन्सार ऐनको दफा ५१ (१) र भन्सार नियमावली २०६४ नियम ३७ को (९,१०,१२,१३ र १६ ) को बारेमा ज्ञापन पत्र बुझाईसकेका थियौं। तर, उक्त ज्ञापन पत्रको बारेमा सरोकारवाला पक्षबाट कुनैपनि सुनुवाई नभएको हुनाले आजदेखि भन्सार विभागमा धर्ना बसेका छौं।’

संयोजक कार्कीले माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट