मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि तीन अर्ब २१ करोड ३५ लाख ४४ हजार बजेट विनियोजन गरेको छ ।
महानगरपालिकाको १३औँ अधिवेशनमा नगरप्रमुख राजेशमान सिंहले चालुतर्फ दुई अर्ब ४८ करोड ८५ लाख पाँच हजार तथा पूँजीगततर्फ ६८ करोड ८७ लाख १५ हजार र वित्तीय व्यवस्थातर्फ तीन करोड ६३ लाख २४ हजार विनियोजन गरिएको जानकारी दिए ।
आगामी आर्थिक वर्षका लागि अनुगमन गरिएको खर्च ब्यहोर्ने स्रोतहरुमध्ये आन्तरिक राजस्वबाट रु एक अर्ब २० करोड ४४ लाख ३० हजार, नेपाल सरकारको वित्तीय हस्तान्तरणबाट रु एक अर्ब ३३ करोड २१ लाख, सङ्घीय राजस्व बाँडफाँटबाट रु २५ करोड २४ लाख ७० हजार र प्रदेश वित्तीय हस्तान्तरणबाट रु चार करोड ४५ लाख ९५ हजार एवं प्रदेश राजस्व बाँडफाँटबाट दुई करोड ८७ लाख ब्यहोरिने जनाएको छ ।
चालु आर्थिक वर्ष २०७९/८० मा कूल रु तीन अर्ब ४४ करोड ३४ लाख चार हजार विनियोजन रहेकामा विनियोजनको ७१ प्रतिशत खर्च हुने संशोधित अनुमान छ । सोमध्ये चालु खर्च दुई अर्ब १५ करोड अर्थात् ४८ प्रतिशत पूँजीगत खर्च एक अर्ब अर्थात् विनियोजनको २३ प्रतिशत खर्च हुने संशोधित अनुमान रहेको महानगरप्रमुख सिंहले बताए ।