पशुपतिको सुनको जलहरी प्रकरण: १० किलो घोटाला भनिएको थियो तर जोख्दा आधा केजी कम भेटियो-Sutra News

पशुपतिको सुनको जलहरी प्रकरण: १० किलो घोटाला भनिएको थियो तर जोख्दा आधा केजी कम भेटियो

सोमबार, ११ असार २०८०

सोमबार, ११ असार २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर (क्यारेट) परीक्षण गरेको छ ।



अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि र पशुपति क्षेत्र विकास कोषको रोहवरमा पशुपतिनाथ मन्दिरभित्र राखिएको जलहरी नापतौल र परीक्षण गरेको हो ।

आइतबार दिउँसो जलहरी जोख्न पशुपतिनाथ पुगेको अख्तियारको टोलीले सोमबार बिहान २ बजेसम्म लगाएर जलहरी जोखेको हो ।
अख्तियारको टोलीले उक्त सुन जोख्दा आधा केजी कम पाइएको छ । सुन जोख्न पशुपति पुगेका टोलीमध्येका एक सदस्यका अनुसार जलहरीमा प्रयोग भएको भन्दा आधा केजी सुन कम पाइएको हो ।

तर, महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख छ ।

ती सदस्यका अनुसार जलहरी, जलहरीमा लगाइएको दुई थान पेटिकासमेत गरी जम्मा एक सय छ दशमलव ४३२५ किलोग्राम सुन देखिएको छ । सुनको जलहरी कस्नलाई बनाइएका काँटीको नापतौल १.३७५ किलोग्रम देखिएको छ । सुनको गुणस्तर परीक्षणमा २२ क्यारेटको सुन जलहरीमा प्रयोग भएको पाइएको छ ।

धार्मिक मान्यता अनुसार एक पटक शिवलिंगमा राखिसकिएको जलहरी निकाल्न मिल्दैन । तर जलहरीमा प्रयोग भएको सुनको तौलमा विवाद भएपछि पशुपति क्षेत्र विकास कोषले क्षमा पूजा गरेर जलहरी निकालेर तौल लिइएको हो । पशुपति क्षेत्र विकास कोषले शनिबार क्षमापूजासमेत गरिसकेको छ । स्रोतका अनुसार दक्षिण भारतबाट पण्डित बोलाएर पशुपतिनाथमा क्षमा पूजा गरिएको थियो ।

पशुपतिनाथ मन्दिरमा राखिएको जलहरीमा सुनको विषयलाई लिएर विवाद हुँदै आएको छ । संसदमा समेत पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलहरी राखिएको भन्दै विवाद भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा पशुपतिनाथमा सुनको जलहरी राख्ने निर्णय भएको थियोे । सो निर्णय अनुसार तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले १२ फागुन ०७७ मा सुनको जलहरी अनावरण गरेकी थिइन् ।

करिब एक अर्ब रुपैयाँ खर्चेर निर्माण गरिएको जलहरी अनावरण गर्ने अन्तिम समयमा सर्वोच्च अदालतमा रिट परेपछि निर्धारित समयभन्दा तीन दिनअघि नै राष्ट्रपतिले उद्घाटन गरेकी थिइन् ।

जुन अहिले किनै विवादमा परेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ वार्षिक प्रतिवेदनमा पशुपतिमा सुनको जलहरी राख्दा १० किलो सुन हिनामिना भएको उल्लेख गरिएको छ ।

पशुपति विकास कोषले नेपाल राष्ट्र बैंकसँग ८० करोड रुपैयाँ बराबरको १०३ किलो सुन खरिद गरेको थियो । त्यसमध्ये, जलहरी, जलधारा, नाग, नाग मूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ५१४ ग्राम रहेको छ ।

यी सबै निर्माण सकिएपछि बाँकी रहेको १० हजार ९७६ ग्राम सुनको रिङ बनाएर जलहरीमा लगाएको कोषले बताएको छ । तर, महालेखापरीक्षकको कार्यालयले प्रतिवेदनमा जलहरीमा लगाइएको रिङ बनाउन सो सुन प्रयोग भए/नभएको पुष्टि हुने कुनै कागजात कोषबाट पेस नभएको उल्लेख गरेको छ ।

उक्त समयमा किनिएको १०३ किलो सुनमा मिश्रण गर्न २ किलो ८९० ग्राम तामा, १ किलो २४९ ग्राम चाँदी, १२ किलो ७५० ग्राम जिङ्कसमेत प्रयोग गरी १०७ किलो ४९० ग्राम सुन कायम भएको उल्लेख छ । तर, बाँकी रहेको १० किलोभन्दा बढी सुनबाट रिङ बनेको बिल पेस नभएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट