कोशी प्रदेशमा सवारी साधन दुर्घटनामा ११ महिनामा ३८८ जनाको मृत्यु भएको छ ।
ज्यान गुमाउनेमा झापाका अध्यधिक रहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म सवारी दुर्घटनामा परी झापाका एक सय पाँच जनाले ज्यान गुमाएका छन् ।
कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता मोहनविक्रम दाहालका अनुसार कोशीका १४ जिल्लामा चालु आर्थिक वर्षको असार १० गतेसम्ममा तीन हजार ३१७ सवारी साधन दुर्घटनामा परेका थिए । गत वर्ष सोही अवधिमा तीन हजार ५९६ सवारी साधन दुर्घटना हुँदा ४९७ जनाले ज्यान गुमाएका थिए ।
दुर्घटनामा ७३१ जना गम्भीर र चार हजार ५१५ जना सामान्य घाइते भएका दाहालले बताए । दुर्घटना न्यूनीकरणका लागि प्रदेशभरिमा चेनामूलक २४ हजार ५५१ कार्यक्रम गरिएका छन् ।
सडकको अवस्था, भौगोलिक कारण, ट्राफिक नियम उल्लङ्घन, पैदलयात्रीले जभाभावी बाटो काट्ने, चालकको लापरबाही, सडकमा चौपाया छाड्ने जस्ता कारणले दुर्घटनामा वृद्धि भएको हो ।
ट्राफिक नियम उल्लङ्घन गरेका सवारी साधनका चालकलाई कारबाही गरेर कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले १८ करोड ५४ लाख राजश्व सङ्कलन गरेको छ ।