असार १५ गते नेपालसँगै हिन्दी डबमा समेत रिलिज हुने भनिएको ‘परस्त्री’को हिन्दी डब नेपालमा भने रिलिज नहुने भएको छ।
मंगलबार फेसबुकमा स्टाटस लेख्दै निर्मात्री शर्मिला पाण्डेले ‘परस्त्री’ नेपालमा नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने जानकारी दिएकी छन्।
नेपालमा ‘परस्त्री’ हेर्न दर्शक उत्साहित रहेको भन्दै हिन्दीमा पनि रिलिज हुने खबरले दर्शक दोधारमा रहेको पाएकाले आफुहरुले नेपालमा ‘परस्त्री’ नेपाली भाषामा मात्रै प्रदर्शन गर्ने निर्णय गरेको उल्लेख गरेकी छन्।
‘हामीले निर्माण गरेको नेपाली र हिन्दी भाषाको चलचित्र ‘परस्त्री’ यही असार १५ गते देखि नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुने कुरा हाम्रा दर्शकहरुलाई जानकारी गराउन चाहन्छु। साथै हिन्दी भाषामा रहेको चलचित्र ‘परस्त्री’ को संस्करण भारतमा मात्रै प्रदर्शन हुनेछ भने नेपाली भाषामा रहेको चलचित्र ‘परस्त्री’ नेपालमा प्रदर्शन हुनेछ। धन्यवाद’, उनले फेसबुकमा लेखेकी छन्।
सिनेमा निर्मात्री पाण्डेका छोरा सुरज पाण्डेको निर्देशकीय डेब्यू सिनेमा हो भने यसको कथा ‘पशुपति प्रसाद’ तथा ‘आमा’ फेम निर्देशक दीपेन्द्र के खनालले लेखेका हुन्।
सिनेमाले विवाहोत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथा पेस गर्छ। सिनमालाई निरज कँडेलले छायांकन गरेका हन् ।
सिनेमामा कोशिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय रहेको छ।