कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीविरुद्ध उच्च अदालत विराटनगरमा अवहेलना मुद्दा दर्ता भएको छ । बुधबार अधिवक्ता उद्धवचन्द्र घिमिरे र उच्च अदालत विराटनगरका रजिस्टार जितेन्द्रबाबु थपलियाले अवहेलना मुद्दा दर्ता गरेका हुन् ।
मन्त्री राजभण्डारीले आइतबार विराटनगरको शिक्षादीप कलेजमा आयोजित कार्यक्रममा न्यायाधीशले घुस खाएको सार्वजनिक अभिव्यक्ति दिएका थिए । उच्च अदालत विराटनगरका रजिष्टार थपलियाले मन्त्री राजभण्डारीले अदालतको अवहेलना गरेको भनी तयार पारेको प्रतिवेदनका आधारमा मुद्दा दायर गरेको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिए ।
मन्त्री राजभण्डारीले प्रदेश खेलकुद बोर्डको सदस्यसचिव हंशराज वाग्लेले दायर गरेको रिटको सुनुवाइ गर्दा न्यायाधीशले घुस खाएको आरोप लगाएका थिए ।
उनले भनेका थिए, ‘हिजो त्यही उच्च अदालतमा मुद्दा दिएका त्यही बोर्डका सदस्य सचिवको पदको मुद्दा अहिलेसम्म हेर्न नसक्ने अदालतका न्यायाधीश आज त्यही पदका सदस्य सचिवले दिएको मुद्दामा स्टे अडर गर्न तयार छ, त्यो किन भने मेरो ठाडो भाषामा भन्न सक्छु, बदनियत गरेकै हो न्यायाधीशले । त्यो न्यायाधीश फटाहा हो । त्यो न्यायाधीश जनताको नाममा कलंक हो । सदस्य सचिवलाई सरकारले कारबाही गर्दा पैसा लिएर स्टे अडर गर्ने न्यायाधीश खराब हो ।’