सोरु गाउँपालिकामा सिटामोल पाउनै मुस्किल-Sutra News

सोरु गाउँपालिकामा सिटामोल पाउनै मुस्किल

बुधबार, १३ असार २०८०

बुधबार, १३ असार २०८०

मुगुको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिका मातहातका स्वास्थ्य चौकीहरूमा सामान्य औषधि सिटामोलसमेत पाउन मुस्किल भएको छ । पालिकाका खनाया स्वास्थ्य चौकी, जिमा स्वास्थ्य चौकी, भिई, नाथर्प, बुम्चलगायत स्वास्थ्य चौकीहरूमा सिटामोलसहित औषधिको चरम अभाव देखिएको हो ।



गाउँपालिकामा आठवटा आधारभूत स्वास्थ्य केन्द्र, चारवटा सामुदायि स्वास्थ्य र तीनवटा इकाई रहेका छन् । पछिल्लो समय यी स्वास्थ्य चौकीहरूमा औषधि मुस्किलले पाउने गरेको छ । उपचार गर्न आएका बिरामीलाई एक चक्की सिटामोलसमेत पाउन गाह्रो अवस्था छ । स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतका अनुसार अहिले सामान्य सिटामोल पनि पाउनै गाह्रो भएको बताए ।

उनका अनुसार जिल्लामा सञ्चालित एक गैरसरकारी संस्था फेज नेपालले केही रुपमा औषधि सहयोग गरेको बताए । पछिल्लो समय स्वास्थ्य चौकीमा दैनिक २० देखि ५० जनासम्म बिरामी उपचार गर्न आउने गरेका छन् । तर, उनीहरू औषधि नपाई घर फर्किन बाध्य भएका छन् ।

औषधिको लागि जिल्ला स्वास्थ्य कार्यालय र पालिका स्वास्थ्य शाखामा औषधिको माग फारम पेस गर्दै हैरान भएको स्वास्थ्य चौकी जिमाका ईन्चार्ज कर्णबहादुर सावतले बताए । स्वास्थ्य चौकीमा ९८ प्रकारको औषिध हुनुपर्नेमा १० किसिमको औषधि पनि पाउनै मुस्किल भएको छ । यता सोरु गाउपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार माग फारमका आधारमा औषधि उपलब्ध गराउने नियम रहेको बताए ।

पालिकाले औषधि खरिदमा प्रयाप्त बजेट नछुट्याउने र जिल्ला स्वास्थ्य कार्यालयले औषधि उपलब्ध नगराउँदा दुर्गम बस्तीका स्वास्थ्य केन्द्रमा औषधिको चरम अभाव हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट