रोमानिया घटनालाई लिएर बल्ल प्रकाशले आफ्नो औपचारिक धारणा राखेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो धारणा राखेका हुन् ।
यस्तो छ उनको स्टाटस्
सर्वप्रथम घट्नाको घोर भत्सर्ना र निन्दा गर्दै कला र कलाकारको सम्मान र सुरक्षाको पक्षमा वकालत गर्नुहुने सम्पुर्ण कलाकर्मी, संगितकर्मी, अधिकारकर्मी, मिडियाकर्मीहरु , राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लगायतका सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद ! घट्ना थाहा पाएर चासो, चिन्ता र शुभेच्छा प्रकट गर्नुहुने संसारभरी छरिएर रहनु भएका नेपाली शुभेच्छुक, शुचिन्तकहरुमा आभारी छु । मायाको साटोमा माया
घटनासँग अरु कुनै ख़राब नियत र उद्देश्य नजोडिएको भए पनि सार्वजनिक रुपमा भएको यो घट्नाले मेरो मनमा गहिरो चोट पुगेको छ । अहिले मानसिक रुपमा अलि विक्षिप्त भएको छु । हुनत सार्वजनिक छवि भएका संसारभरिका विभिन्न व्यक्तिहरुको जीवनमा आईपर्ने यस्ता घटना र किस्साहरु पढ्दै , सुन्दै आएको हो । तर स्वयम आफुचाँहि तयार भैसकेको रहेनछु । भर्खर यात्रा सुरु गरेको छु । यात्रा सजिलो छैन भन्ने त थाहा छ तर यस्तो अनेपक्षित घट्नाहरुले यात्रा अफ्ठ्यारो मात्रै होइन डरलाग्दो पनि रहेछ जस्तो अनुभव भैरहेको छ । कोभिड पछाडि यस्तो डर(एन्जाइटी)लाई पटक-पटक जित्दै आएको भएर यो डर पनि जित्ने छु । जित्नु पर्छ ।।
(मानसिक स्वास्थ्य बारे खुलेर कुरा गरौ है)
बोत्तल प्रहार गर्ने युवाको आचरण र परिस्थिति म राम्रो सँग जान्दछु । मैले मेरो जीवनकालमा यस्तो स्वभावका धेरै साथीहरुको सँगत गरेको छु । त्यसमाथि सानै उमेरमा ठुलो रकम तिरेर विदेश जानु पर्ने बाध्यताले धेरै नेपालीहरुमा चरम निराशा र मानसिक स्वास्थ्य समस्या देखिन थालेको छ । म विदेश कार्यक्रमहरुमा जादा प्राय सबै ठाउँमा यो विषयमा छलफल हुने गरेको पनि छ । यो घट्ना एउटा संयोग मात्रै होईन हाम्रो बाध्यता र परिस्थितिको उपज पनि हो । मैले आफ्नो सिर्जनामा यो विषय समेट्दै आएको छु । र सधै हाम्रो राज्य व्यवस्था, सरकार र नेतृत्व सँग प्रश्न गरिरहनेछु !
अन्त्यमा,
यो तस्विर पनि रोमानिया कै हो । हामी लन्चको लागी एउटा इटालियन रेष्टुरेन्टमा जाँदा म आएको थाहा पाएर भित्र किचनमा काम गरिरहेका नेपाली दाजुहरुले म्यानेजरसँग अनुरोध गरेर आफ्नो कामको पोशाक मै मसँग तस्विर लिनुभएको थियो । पछि म्यानेजरले रोमानिया भाषा मैं हामी लाई भन्दै थिए- “ यिनिहरुलाई यत्ति धेरै ख़ुशी मैले कहिल्यै देखेको थिइन!” यो सुनेर म झनै ख़ुशी भए। हामी सबै आफ्नो-आफ्नो कर्म गरेर जीवन चलाउँछौ । जीवन कटाउछौ । यसरी आफ्नो कर्मले अरुलाई ख़ुशी बाड्न पाउनु नै मेरो जीवनको सबै भन्दा ठुलो उपलब्धि हो । मैले कमाएकै तपाईंहरुको प्रेम हो । शुभेच्छा हो र आम मानिसको भन्दा अलिकति फराकिलो पहिचान हो ।
बाँकी धनपैसा त अरु कुनै पेशा गरेर पनि कमाउन सकिन्थ्यो किनकी म पहिले देखिनै आफ्नो परिवार, जीवन र भविष्य प्रति ज़िम्मेवार र सचेत मानिस हुँ । एक किसिमको प्रगती मैले जुनसुकै पेशामा पनि गर्न सक्थें ।
जीवन आफैमा एउटा यात्रा हो । यो यात्राको लागि म हिँडेको बाटो मेरै रोजाई हो । यसका सबै उतार-चढाव स्वीकार्य छ । तर यस्तो घट्ना घटाउने र माफीमै मिलाउने गलत नजिर नबसोस्। प्रेम, सम्मान, सुरक्षा, संस्कार , हार्दिकता, मानवता हामी सबैमा हुन जरुरी छ । समय परिस्थितिवश यस्तो घट्नाहरु घट्छन । गल्ती कमजोरी हुन पुग्छन ।
यसलाई जसोतसो स्वीकार्न र सन्तुलन गर्न सकिन्छ । अब गोली नै ठोके त अलग कुरा भयो तर कसैले यस्ता सानातिना घट्ना घटाएर, निरन्तर नकारात्मक व्यङ्ग्य र विचार प्रवाह गरेर, प्रत्यक्ष अप्रत्यक्ष वचन लगाएर ख़राब नियतबस मलाई निरुत्साहित गर्ने सोचिरहनु भएको छ भने तपाईं अलरेडी असफल सोचमा हुनुहुन्छ किनकी मानिसहरुलाई मनोरन्जन प्रदान गर्ने, प्रेम र खुसी बाड्ने र आफ्नो सिर्जना मार्फत समाज, सरकार र व्यवस्थालाई प्रश्न गर्दै अगाडि बढ्ने मेरो यात्रा लाई अब कुनै विचार, वचन र बोत्तलको प्रहारले रोक्न सक्दैन !
हस्, नयाँ सिर्जना र नयाँ कार्यक्रममा भेटौंला है ।
नमस्कार।