नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा हासिल गरिसकेपछि रोजगारीको अवसरका लागि विदेशिनुभन्दा नेपालमा नै अवसर भएको बताएका छन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयमा आज आयोजना गरिएको कृषि उद्यमबाट संबृद्धि विषयक कार्यक्रममा उनले नेपालमा केही हुँदैन भनेर विदेश जानुभन्दा कृषि कर्मबाट अवसर खोज्न सकिने बताए ।
विद्यार्थी र ओलीबीच प्रश्नोत्तर शैलीमा सञ्चालन गरिएको कार्यक्रममा प्रश्नको जवाफ दिँदै उनले विदेशमा गएर कामदार बन्नुभन्दा यहीँ उद्यमी बन्नु उपयुक्त भएको बताए । उनले भने, “एक जना व्यक्तिको जीवनकालमा धेरै परिवर्तन हुन सक्छ भने अध्ययन गरेका विद्यार्थीको जीवनकालमा नेपालमा नै सम्भव नहुने केही छैन ।”
यहाँ जति अवसर विदेशमा नमिल्ने उनको भनाइ थियो । पढेका सक्षम विद्यार्थी बाहिर गएर कामदार मात्रै भन्ने भन्दै उनले पढाइ सकिएपछि विदेश जाने सोच बनाउन नहुने बताए ।
नेपालको कृषिलाई आधुनिक तरीकाले गर्न सकिने भन्दै उनले देशलाई आवश्यक पर्ने खाद्यान्न आफैले उत्पादन गर्नुपर्ने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै युवा उद्यमी ससन देवकोटाले नेपालबाट ५० प्रतिशत दक्ष कामदार विदेश पलायन भएको बताए । अध्ययन सकेर बसेका विद्यार्थी विदेश जाने तयारीमा रहेको भन्दै उनले कृषि क्षेत्रमा उद्यम गर्ने कार्यमा पाँच प्रतिशतमात्रै रहेको बताए ।