बिरामीको उपचारका लागि रगतको माग र आपूर्तिको सन्तुलन मिलाउन बुटवलमा पहिलोपल्ट आजदेखि ‘रक्त सङ्कलन मोबाइल एम्बुलेन्स’सञ्चालनमा ल्याइएको छ ।
उक्त रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्न सकिन्छ । रगत सङ्कलन गर्दै हिँड्ने एम्बुलेन्स बुटवलमा पहिलोपल्ट भित्र्याइएपछि अब रक्तदानमा सहजता हुने अपेक्षा गरिएको छ ।
रोटरी क्लब अफ बुटवलले रक्त सङ्कलन एम्बुलेन्स आज नेपाल रेडक्रस सोसाइटी रुपन्देहीलाई हस्तान्तरण गरेको छ । यो एम्बुलेन्स खरिदका लागि रेडक्रससमेतको साझेदारी रहेको छ । क्लबले तीन वर्षअघि यो एम्बुलेन्स ल्याउने प्रक्रिया थालेको थियो । तर कोरोना महामारीका कारण क्लबको परियोजना पछाडि धकेलिएको हो ।
रोटरी क्लब अफ बुटवलको सिग्नेचर प्रोजेक्टका रूपमा रहेको यो एम्बुलेन्स ७० लाखको लागतमा भित्र्याइएको क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । यो एम्बुलेन्समा बसेर एकै पटकमा पाँच जनाले रक्तदान गर्न सक्छन् ।
उनले यसलाई सही ढङ्गले सञ्चालनमा ल्याएर रगतको माग र आवश्यकतालाई पूरा गर्नुपर्ने बताए । अध्यक्ष पियाले क्लबले रुपन्देहीमा मात्रै १० करोडभन्दा बढी रकम सामाजिक क्षेत्रमा लगानी गरेको जानकारी दिए ।
रगत सङ्कलन गर्न यो एम्बुलेन्स लुम्बिनी प्रदेशका सबै जिल्लामा पुर्याइने नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अध्यक्ष दीपक क्षेत्री न्यौपानेले बताए । उनले अब यसको सञ्चालनमा लागि कार्यविधि निर्माण गरिने र सोहीअनुसार कार्यान्वयनमा लगिने बताए ।
रक्त एम्बुलेन्समा गाडीभित्रै बसेर रक्तदान गर्ने मात्र नभई रगत चिस्याउने, रगत झिक्ने स्वास्थ्यकर्मी बस्ने व्यवस्थासमेत एम्बुलेन्सभित्रै छ । रगत अभाव भएको बेला गाउँ गाउँसम्म रगत सङ्कलन गर्न एम्बुलेन्स निकै उपयोगी हुने विश्वास गरिएको छ ।