शैल्यशिखर नगरपालिका–६ पनेबाज बजार छेउमा जस्तापाताले बार लगाएको एउटा सानो छाप्रो छ । त्यही छाप्रोमा बिहानदेखि साँझसम्म दैनिक जसो भेटिन्छन् ७० वर्षीय पदमे लुहार । उहाँ एक हातले घन र अर्को हातले पङ्खा घुमाइरहन्छन् ।
लुहार फलाम सिल्भर र तामाका विभिन्न भाँडाकुँडा बनाउछन् । बुबा बाजेबाट भाँडाकुँडा बनाउन सिक्नुभएका उनले आरन व्यवसाय सञ्चालन गरेको ५२ वर्ष भयो । “यसै पेसाबाट जसोतासो घरखर्च चल्दै आएको छ”, लुहारले भने ।
आरन पेसा अपनाउँदै आएका लुहार बिगतमा निकै दुःख खेप्नु परेको बताउछन् । केही वर्ष अघिसम्म फलामको काम गर्दा अन्न मात्र दिने गरेकामा पछिल्लो समय त्यसवापत उनले नगद पाउछन् । यही पैसोले लुहारले छोराछोरीको लत्ताकपडा किन्ने गरेका छन् । “छोराहरुले यो पेसालाई अपनाउन चाहँदैनन्, अब पेशा सङ्कटमा पर्ने चिन्ता छ”, उनी भन्छन् ।
आरन व्यवसाय सङ्कटमा परेको छ । “बजार अभाव छ, त्यसैले आरन व्यवशाय गाउँघरबाटै हराउँदै गएको छ”, स्थानीय दीपेन्द्र धामीले भने । परम्परागत घरेलु हस्तकलाका सामग्रीको प्रयोग कम हुनुका साथै मेहनत गरेअनुसारको मूल्य नपाउँदा पनि यो पेसा विस्तारै लोप हुँदै गएको छ ।
आरन व्यवसायी गङ्गराम लोहार यही पेसालाई आधुनिक ढङ्गले व्यावसायिक रुपमा अघि बढाउन सके स्थानीय स्रोतसाधनको प्रयोगबाटै गाउँघरमा रोजगारी सिर्जना गर्न सकिने बताउछन् । “अहिलेका युवाको यो पेसाप्रति चासो छैन”, उनले भने ।
पहिला–पहिला गाउँघरमा आरन व्यवसाय गर्नेको सङ्ख्या उल्लेख्य थियो । भाँडाकुँडा बनाउन कोइलाको प्रयोग गरिन्छ । अहिले दाउराको पनि अभाव हुन थालेको छ । स्थानीय गजेन्द्र लुहार भन्छन् “मैले सानै उमेरदेखि बुबा र बाजेले काम गरेको देखेर सिकेको हुँ, अहिलेका पुस्ताले सिक्न चाहँदैनन्, सिकेर खेर जाँदैन, यसबाट पनि पैसो कमाउन सकिन्छ”,
आठ जनाको परिवारको खर्च आरन पेसाबाटै चलाएको लुहारले बताए । सरकारले आरन पेसा लोप हुन नदिन विभिन्न कार्यक्रम ल्याउनुपर्ने उनको माग छ ।