चार पटकको विश्वकप च्याम्पियन वेस्ट इन्डिज आईसीसी विश्वकप छनोट २०२३ को छनोट चरणबाटै बाहिरिएको छ।
हरारे स्पोर्टस् क्लबमा सुपर सिक्सअन्तर्गत भएको खेलमा वेस्ट इन्डिज स्कटल्याण्डसँग ७ विकेटले पराजित भयो । पराजयसँगै उसको विश्वकप खेल्ने सपना चकनाचुर भएको हो ।
वेस्ट इन्डिजले दिएको १८२ रनको लक्ष्य स्कटल्यान्डले ४३ दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
स्कटल्यान्डको जितमा म्याथ्यु क्रस ७४ रनमा अविजित रहे । कप्तान रिची बेरिंग्टन १४ बलमा २ चौकासहित १३ रनमा अविजित रहे । ब्रेन्डन म्याकमुलेन १०६ बलमा ८ चौका र १ छक्कासहित ६९ रनमा आउट भए ।
ओपनर क्रिस म्याक ब्राइड शून्यमै ईनिङको पहिलो बलमा नै आउट भएका थिए । तर दोस्रो विकेटका लागि म्याकमुलेन र क्रसले १२५ रनको शतकीय साझेदारी गरेपछि वेस्ट इन्डिजको जितको सम्भावना समाप्त भएको थियो ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ४३ दशमलब ५ ओभरमा १८१ रनमा अलआउट भएको हो ।
पराजित भएसँगै वेस्ट इन्डिज सुपर सिक्सबाट बाहिरिने दोस्रो टोली बन्ने छ । यस अघि ओमान सुपर सिक्सबाट बाहिरिने पहिलो टोली बनिसकेको छ ।