नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बालुवाटार ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै स्वार्थ नरहेको दाबी गरेका छन् ।
सामाजिक सञ्जालमा लामो स्पष्टीकरण लेख्दै भट्टराईले उक्त प्रकरणमा आफ्नो कुनै स्वार्थ नरहेको दाबी गरेका हुन् ।
सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री भट्टराईले तत्कालीन प्रधानमन्त्रीको हैसियतले मात्रै आफू जोडिएको दाबी गर्दै त्यसपछिको यो विषयमा केही थाहा नभएको र आफू वा आफू निकट कुनै व्यक्तिको स्वार्थ नजोडिएको र कसैले आरोप पनि नलगाएको दाबी गरेका हुन् ।
देशमा राज्यको सम्पत्ति निजी लाभको निम्ति दोहन गर्ने र शक्तिको दुरुपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास प्रकरण लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानबिन र दोषीलाई कडाभन्दा कडा कार्वाहीको माग समेत गरेका छन् ।
यो प्रकरणलाई छिटो टुंगोमा पुर्याउन सरकारलाई अपिल गरेका भट्टराईले कतै यो प्रकरणमा उनी समेत तानिने अवस्था सिर्जना भएपछि यस्तो प्रष्टिकरण दिएका त हैनन भन्ने प्रश्न उठेको छ ।
बालुवाटार प्रकरणमा पूर्व प्रधानमन्त्री भट्टराईका अलावा माधवकुमार नेपालको नाम पनि मुछिदैं आएको छ । सरकारले यो प्रकरणमा भाटभटेनीका सञ्चालक भिम बहादुर गुरुङ सहितका हाईप्रोफाइल अभियुक्त पक्राउ परेपछि भट्टराई पनि बेचैन रहेको संकेत मिल्छ ।
यस्तो छ पूर्व प्रधानमन्त्री भट्टराईको स्पष्टीकरण पत्र:
ललिता निवास प्रकरणको पुछारमा मेरो प्रमकालको मन्त्रिपरिषदको निर्णय पनि जोडिन पुगेकाले धेरै महानुभावहरूले चिन्ता र चासो सहित वास्तविकता सार्वजनिक गरिदिन आग्रह गर्नुभएको छ। मेरो करिब १९ महिने प्रमकालमा प्रकृयागत ढंगले सयौं निर्णय भएका छन् तीबारे प्रमले सबै सम्झनसक्ने कुरो हुँदैन !
मन्त्रिपरिषद्का निर्णयहरू एकाध बाहेक सबै सम्बन्धित मन्त्रालयबाटै उत्पत्ति भएर आएका हुन्छन्! तिनलाई मुख्यसचिवले बैठकमा प्रस्तुत गरेपछि मन्त्रीपरिषद् को सम्बन्धित समितिमा पठाइन्छ! त्यसले सबै जाँझबुझ गरेर सिफारिस गरेपछि मन्त्रीपरिषदले विधिवत् निर्णय गर्छ।
ललिता निवास सम्बन्धी प्रस्ताव भूमिव्यवस्था मन्त्रालयबाट आएर मन्त्रीपरिषद्को सामाजिकसमितिमा छलफलपछि मन्त्रीपरिषद्बाट पारित भएजस्तो लाग्छ। मलाई हल्का सम्झना भएसम्म राज्यको समरजंग कम्पनीको नाममा दर्ता भएको करिब तीन रोपनी जग्गा पशुपति टिकिन्छा गुठीको भन्ने भएकाले वास्तविक तथ्यप्रमाण अभिलेख जाचबुझ गरी नियम अनुसार गर्ने वा यस्तै आशयको नीतिगत निर्णय भएजस्तो लाग्छ!
यो कुरा मैले अख्तियारको टोलीले केही बर्ष पहिले लिएको बयानमा पनि भनेको छु। तत्कालीन प्रमको हैसियतले मसंग जोडिएको कुरा यत्ति हो! त्यसपछि केकसो भयो मलाई थाहा हुने कुरो भएन। कुनै पनि ढंगले यो प्रकरणमा मेरो वा मेरो निकट कुनै व्यक्तिको स्वार्थ जोडिएको छैन र कसैले आजसम्म त्यस्तो आरोप लगाएको पनि छैन!
देशमा राज्यको सम्पत्ति निजी लाभकोनिम्ति दोहन गर्ने र शक्तिको दुरूपयोग गर्ने प्रवृत्ति भयंकर रूपले झांगिएको स्थितिमा ललितानिवास लगायत सबै भ्रष्टाचारका काण्डहरूको निष्पक्ष छानवीन होस् र दोषीलाई कडाभन्दा कडा कार्वाही होस् भन्ने कुरा मैले संसदमा र बाहिर पनि निरन्तर उठाउॅदै आएको छु!
त्यसमा म आजीवन प्रतिबद्ध रहनेछु। बरू यो र यस्ता प्रकरणको छिटो टुंगो लागोस् ताकि आम जनतालाई गुड र गोबर छुट्याउन सहज होस्; अनि कसैले आफ्नो दाग छोप्न अरूमाथि हिलो छ्याप्न नपाओस्!