एकजना अंगदान गर्दा ८ जनालाई बचाउन सकिन्छ तर, नेपालमा अंगदान गर्ने अति न्यून-Sutra News

एकजना अंगदान गर्दा ८ जनालाई बचाउन सकिन्छ तर, नेपालमा अंगदान गर्ने अति न्यून

आइतबार, १७ असार २०८०

आइतबार, १७ असार २०८०

मानिसको मृत्युपश्चात् पनि अंगदान गर्न सकिन्छ भन्नेबारे समाजमा जनचेतना जगाउनु जरुरी भएको बुटबलमा सरोकारवालाहरूले बताएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहयोगमा सञ्जीवनी हेल्थ मिडियाको आयोजनामा बुटवलमा मस्तिष्क मृत्युपश्चात् गरिने अंगदानसम्बन्धी कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे भएको अन्तरक्रिया यस्तो बताइएको हो।



प्रत्यारोपण केन्द्रका प्रमुख कार्यकारी अधिकृत डा. पुकार श्रेष्ठले तीन करोड जनसंख्या भएको देशमा अहिलेसम्म दुई हजार २०० जनाले मात्र मृत्युपछि अंगदान गर्ने घोषणा गरेको बताए ।

छोटोसमयमा एक हजार बढीको मृगौला प्रत्यारोपण गर्न सफल भएको भन्दै डा. श्रेष्ठले यो अभियान देशव्यापी गराउने उल्लेख गरे। नेपालमा प्रत्येक वर्ष एक हजार जनाको मस्तिष्क मृत्यु हुने गरेको र त्यसबाट आठ हजार अंगहरु प्राप्त गर्न र एकजनाको अंगदानबाट ८ जनाको जीवन बचाउन सकिने हुँदा यसबारे जनचेतना फैलाउनु आवश्यक रहेको उनको भनाइ छ ।

मस्तिष्क मृत्युपश्चात् सडेर र खरानी बनेर जाने अंगले अरूको ज्यान बचाउन सकिन्छ भन्ने चेतना फैलाउन नसक्दा नै अंगदान गर्नेको संख्या बढ्न नसकेको उनले बताए । यस्तै एक जना मृगौला रोगीका लागि सरकारले प्रतिवर्ष दुई लाख ५२ हजार रूपैयाँ खर्च गर्ने गरेको तर सोही रोगीको दुई वर्षको डायसासिस खर्चले एक जनाको मृगौला प्रत्यारोपण गर्न सकिने डा. श्रेष्ठको भनाइ छ ।

‘प्रत्यारोपणको विकल्प डायलासिस होइन,’ डा. श्रेष्ठले भने, ‘प्रत्यारोपण गरेकाहरूको जीवन बढ्छ । नेपाल सरकारले डायलासिस निःशुल्क गरेको छ । जसको मूल्य वर्षमा २ लाख ५२ हजार खर्च हुन्छ । दुई वर्षको खर्चबाट प्रत्यारोपण गर्न सकिन्छ । पाँच लाखमा मृगौला प्रत्यारोपणमा खर्च हुन्छ जुन निःशुल्क छ । डायलासिसमा हुने खर्च वा उपचार प्रविधिमा हुने खर्च रोक्न सके यो लगानी देशलाई समृद्धि बनाउनतर्फ लगाउन सकिने कार्यकारी अधिकृत श्रेष्ठको भनाइ छ।

कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी डा. कल्पना श्रेष्ठले अंगदान गर्ने व्यक्तिको परिवारलाई बुझाउन धेरै कठिनाइ देखिएको बताइन् । अंगदान गर्न तयार हुनेको विषयमा सरकारले प्राथमिकता नदिएको उनको गुनासो छ । मस्तिष्क मृत्युपछि २४ घण्टाभित्र सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने सम्भावना रहेको भन्दै उनले यो मापदण्डअनुसार नै वितरण गरिने बताइन् ।

लुम्बिनी प्रदेश सभाका प्रदेश सदस्य भोजप्रसाद श्रेष्ठले आम नागरिकको स्वस्थ्यको विषयमा तीन तहकै सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो नीतिगत समस्यालाई समाधान गरेर सेवा विस्तारमा सरकारी अस्पतालहरुको ध्यान जानुपर्ने श्रेष्ठको भनाइ छ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बुटवलबाट स्वस्थ्यको क्षेत्रमा अभियान थाल्न जरुरी रहेको बताए । जापानको सहयोगमा बुटवलको आम्दा अस्पतालमा क्यान्सर, न्युरोसर्जन सेवा सुरु गर्ने तयारी भएको बताउँदै नगरपालिकाले हाल ८ वटा रोग लागेका बिरामीलाई सहयोग गर्दै आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट