राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सत्ता जोगाउनका लागि दलहरूले गठबन्धनभित्र गठबन्धन बनाइरहेको टिप्पणी गरेका छन् ।
आइतबार काठमाडौंमा रास्वपा गोकर्णेश्वर नगर भेला तथा नगर समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले जनतामा रहेका समस्या समाधान गर्न गठबन्धन बनाउनुपर्नेमा दलहरूले सत्ता जोगाउनका लागि गठबन्धन भित्र गठबन्धन बनाइरहेको बताएका हुन् ।
उनले देश र जनताको पक्षमा काम गर्न खोज्दा रास्वपालाई रोक्ने काम भए जनताले प्रतिकार गर्नुपर्ने बताए। उनले चुनावमा हार जित स्वाभाविक भए पनि राजनीतिलाई कहिल्यै हार्न दिन नहुने बताए ।
लामिछानेले संसदमा २१ जना सांसद भए पनि सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको भन्दै आगामी दिन जनताले साथ दिए बहुमत सदस्यका साथ सदनमा प्रतिनिधित्व गर्ने बताए ।
उनले रास्वपालाई सरकारमा जाने अवस्था हुँदाहुँदै पनि जनताको सुझावका आधारमा प्रतिपक्षीमा बसेर काम गरिरहेको बताए। मिसन ८४ मा रास्वपाको अर्जुन दृष्टि रहेको भन्दै यस अवधिमा राप्रपा बलियो पार्टी भएर उभिने उनले बताए।
उनले आगामी निर्वाचनलाई केन्द्रित गर्दै देशैभरि संगठन विस्तार गर्ने र देशैभरका नागरिकलाई घण्टीको अभियानमा सामेल गर्ने बताए।
प्रतिक्रिया दिनुहोस्