एलओडी फेरि विवादमा : डेढ महिनामा एक बालिकासहित ३ महिला बलात्कृत-Sutra News

एलओडी फेरि विवादमा : डेढ महिनामा एक बालिकासहित ३ महिला बलात्कृत

सोमबार, १८ असार २०८०

सोमबार, १८ असार २०८०

नेपालकै सबैभन्दा चर्चित डान्स क्लबको परिचय बनाएको एलओडी (लर्ड अफ दि ड्रिङ्क्स) क्लब पछिल्लो समय त्यति नै विवादित हुँदै गएको छ । रमाइलो गर्न एलओडी पुगेका महिला र किशोरीहरू असुरक्षित बन्नु अब सामान्य जस्तै बन्न थालेको छ ।



गएको ३१ जेठमा उदयपुर स्थायी घर भई काठमाडौँको कोटेश्वर बस्दै आएकी १५ वर्षीया बालिकालाई एलओडी क्लबबाट ललितपुरको बागडोल पुर्‍याएर बलात्कार गरेको घटना सार्वजनिक भएको छ । बालिकाको किटानी जाहेरीको आधारमा आरोपी ललितपुरको बागडोल बस्ने ५० वर्षीय सुदनकुमार कोइरालालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरहेको ललितपुर प्रहरीका प्रवक्ता एसपी नवराज कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार ‘आरोपी कोइरालामाथि अनुसन्धान चलिरहेको तथा बालिकालाई एलओडी प्रवेश गराएको विषयमा बालबालिकासम्बन्धी कानुनको दफा ६६ अनुसार दोषी देखिए एलओडीलाई पनि कारबाही गरिने जानकारी दिए । प्रहरीका अनुसार आरोपित कोइरालाले बालिकालाई एलओडीबाट आफ्नै गाडीमा राखेर बागडोल पुर्‍याएको पुष्टि भइसकेको छ । बागडोलमा आरोपी कोइरालाको अफिस सञ्चालनमा छ ।

यसअघि १५ वैशाखमा पनि एलओडीमै सरसफाइको काम गर्ने दुई महिलालाई मदिराको तालमा अर्कै होटेल पुर्‍याएर बलात्कार गरिएको थियो । यो अभियोगमा प्रहरीले खोटाङको बाह्रपोखरी गाउँपालिका-२ स्थायी घर भई काठमाडौँको नयाँबजार बस्ने लोकबहादुर मगर र काठमाडौँको गोकर्णेश्वर नगरपालिका-२ का माइला भन्ने रामकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।

१८ वर्षभन्दा तलका किशोरीलाई एलओडी क्लबमा किन प्रवेश गरिन्छ भन्ने सुत्र टेलिभिजनको प्रश्नमा एलओडी डान्स क्लबका फ्रन्ट डेक्स हेर्ने सहदेव सेढाईले उक्त दिनमा पीडित बालिका आफ्नी दिदीको साथमा एलओडी आएको र आफ्नो उमेर पनि २३ वर्ष बताएको दाबी गरे । उनको उमेर खुल्ने कुनै कागजात हेरिएको थियो कि थिएन भन्ने थप प्रश्नमा ‘सबैको आइडी हेर्न नभ्याउने’ स्वीकार गर्दै पीडित बालिकाको पनि कुनै थप कागजपत्र नहेरेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट