सत्ता गठबन्धनको बैठकले कोशी प्रदेशमा नेपाली कांग्रेसका नेता उद्धव थापाको नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन समझदारी बनेको हो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आजको बैठक मूलतः प्रदेश सरकारकै विषयमा केन्द्रित रहेको थियो । कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेका छन् ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।
त्यस्तै, आजको बैठकमा लुम्बिनी र मधेस प्रदेश सरकारलाई चाँडो पूर्णता दिने पनि सहमति भएको छ ।