झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका छन् ।
झापाकै सामुदायिक वनमा रहेका रैथाने हात्ती र दैनिक बाहुनडाँगी हुँदै नेपाल प्रवेश गर्ने भारतीय जङ्गली हात्तीले मानवीय क्षति गरिरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले बताए ।
उनले गत वर्षको तुलनामा हात्ती आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या बढेको जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि हालसम्ममा आठ जनाले हात्ती आक्रमणमा ज्यान गुमाएका छन् भने सात जना घाइते भएका छन् । गत वर्ष सोही अवधिमा ६ जनाले ज्यान गुमाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
आहाराको खोजीमा गाउँ, सहर पस्ने हात्तीको निशानामा मानिस परेको उहाँको भनाइ छ । केही समय अघिसम्म सामुदायिक वन आसपासमा मात्र हात्तीको जोखिम रहेको थियो । आजकल हात्तीले सहरभित्रै पसेर मान्छे मार्न थालेको छ ।
आज बिहान मात्र धुलाबारी बजारमा पूजाका लागि फूल टिप्न सडकमा हिँड्दै गरेकी ८० वर्षीया पन्नादेवीको हात्ती आक्रमणमा घटनास्थलमै मृत्यु भएको छ । वृद्धालाई मारेर उत्तरतर्फ लागेको हात्तीले बुद्धशान्ति गाउँपालिका–५ मा ३८ वर्षीया कमला धिमाललाई आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।