तीन ठूला दलका शीर्ष नेताहरूले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएका सभामुख देवराज घिमिरेले जानकारी दिए ।
उनले भने, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेतारूले प्रतिबद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।”
उनले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गरे । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ सदस्यले नेतृत्व गर्दा विधेयकमाथिको छलफल अगाडि बढ्न सकेको छैन ।
गत वैशाख १५ गते प्रतिनिधिसभा अन्तर्गत १० विषयगत समिति गठन भएका थिए । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएका थिए । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल हुन सकेका छैनन् ।
प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेतासँग परामर्श गरेका हुन् । सभामुख घिमिरेले सहमतिबाट सभापति नतोकिएका निर्वाचन प्रक्रियाबाट सभापतिको चयन हुने बताए ।
संसदीय समितिलाई कसरी स्तरीय र प्रभावकारी गतिशील बनाउने भन्ने बारेमा नेताहरुसँग सल्लाह मागेको उनको भनाइ छ ।