करिना कपुरले ऋतिक रोशनसँग ‘कहो ना प्यार है’बाट डेब्यू गर्ने तय भइसकेको थियो।
तर, करिनाकी आमा बबितासँगको ठाकठुकले सो डेब्यू सम्भव भएन। यस घटनाले अर्थशास्त्रमा गोलडमेडल जितेकी अमिशा पटेलको भाग्य चम्कियो।
ऋतिकसँगै उनले बल्कबस्टर डेब्यूको स्वाद चाख्न पाइन्। ऋतिक र अमिशा दुबै बलिउडका हटकेक बने।
तर समयक्रममा विवाहित निर्देशक विक्रम भट्टसँगको प्रेमसम्बन्धले उनको करियरलाई ओरालो यात्रातर्फ लग्यो र हाल बलिउडमा उनको हैसियत गुमनामजस्तो अवस्थामा छ।
पछिल्लो समय ‘गदर-२’को निर्माणले उनलाई पुनः लाइमलाइटमा ल्याएको छ। यो लाइमलाइटको चम्काइ कति समय चल्ला त्यसको निर्धारण सिनेमा रिलिजपछि स्पष्ट हुनेछ।
अफेयरले चौपट भयो करियर
भारतीय मिडिया रिपोटहरुका अनुसार उनको निर्देशक विक्रम भट्टसँग ५ वर्ष गम्भिर अफेयर चल्यो। यो अफेयरले धेरैलाई आश्चर्यमा पनि पारेको थियो। तर, सन् २००८ मा यो सम्बन्धले विराम पायो। अमिशाका लागि यो सम्बन्धले व्यक्तिगत चोट त दियो नै उनको करियरसमेत अध्यारो बाटोमा पुग्यो।
यो कुरालाई अमिशाले समेत स्वीकार गरेकी छन्।
एक अन्तरवार्तामा उनले यसका बारेमा प्रतिक्रियासमेत दिएकी छन्।
‘यो उद्योगमा धेरै इमानदार हुनु ठीक छैन। म आवश्यक्ता भन्दा बढि इमानदार भए, दिमागभन्दा दिलबाट सोचे। मेरा सार्वजनिक भएका दुई अफयेरको मेरो करियरमा धेरै नराम्रो असर पर्यो’, उनले भनेकी थिइन्, ‘यही कारण १२-१३ वर्षदेखि मेरो जीवनमा कुनै पुरुष छैन, मात्र शान्ति छ र मलाई अरु केहि चाहिएको पनि छैन।’
उनले बलिउडमा सिङ्गल हुनु नै फाइदाजनक हुनेसमेत सो अन्तरवार्तामा बताएकी थिइन्।