संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीचको सम्बन्ध सौहार्दपूर्ण नरहेको विषय सार्वजनिक भैसकेको छ । उनै मन्त्री किराँतीको जोडबलमा नागरिक उड्डयन प्राधिकरण (क्यान)का महानिर्देशक प्रदीप अधिकारीलाई हटाउने तत्काललाई टरेको छ ।
बालुवाटार निकट उच्च राजनैतिक स्रोतका अनुसार क्यानका महानिर्देशक अधिकारीले मन्त्री किराँतीले सोधेको ९ बुँदे स्पष्टीकरणको जवाफ नदिने अडान लिएको जवाफमा मन्त्री किराँतीले उनलाई बर्खास्त गर्ने सम्भावना प्रधानमन्त्री प्रचण्डको हस्तक्षेपपछि टरेको दाबी गरेको हो ।
मन्त्री किराँतीले ७ दिने अल्टिमेटम दिएर महानिर्देशक अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेको समय सोमबार नै सकिएको छ । स्पष्टीकरणको जवाफ नआएपछि मंगलबार नै बर्खास्त गर्ने मन्त्री किराँतीको तयारीमा प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेपनि प्रधानमन्त्री प्रचण्ड उनको बर्खास्तीको विषयमा सकारात्मक नरहेको बताइन्छ ।
पछिल्लो समय विवाद र आलोचनाको केन्द्रमा रहेका मन्त्री किराँतीलाई हटाएर जनमत पार्टीलाई सरकारमा सहभागी गराउने योजनामा रहेका प्रधानमन्त्री प्रचण्डले महानिर्देशक हटाउने मन्त्री किराँतीको योजनामा साथ नदिएर उनलाई नैतिक दबाब सिर्जना गर्न खोजिएको बताइन्छ ।