राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले सरकारले चालु आर्थिक वर्षको राजश्व संकलन गर्ने लक्ष्य आधारहीन रहेको दाबी गरेका छन् ।
मङ्गलबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा बोल्दै सांसद वाग्लेले यस्तो बताएका हुन् । उनले संशोधित बजेटमा समेत सरकारले ४० दिनको राजश्व संकलन प्रक्षेपण गर्न नसकेको आरोप लगाए।
उनले सरकारले असार १८ गतेसम्म राजश्व ८ खर्ब ६६ अर्ब मात्रै उठे पनि सरकारले ९ खर्ब उठेको भन्दै गलत तथ्याङ्क दिएको बताए । उनले अर्थ मन्त्रालयले एक महिनाअघि मात्रै बजेटमा ११ खर्ब ८० अर्ब उठाउने घोषणा गरेको भन्दै अब आर्थिक वर्षको बाँकी १२ दिन केही चमत्कार नहुने बताए।
उनले नेपालको औसत राजश्व संकलन ३ अर्ब रहेको भन्दै अब घटाएको संशोधित अनुमानलाई हेर्दा दिनमा २६ अर्ब राजश्व उठाउनु पर्ने बाध्यता सरकारलाई रहेको बताए।
उनले असार १८ गतेसम्म सरकारको अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको बताए । उनले सरकारको लक्ष्य ५५ अर्ब बाट एक महिना अघि मात्रै ३८ अर्ब उठ्ने भने पनि अब बढीमा ५ अर्ब उठ्न सक्ने दाबी गरे।
उनले सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वसनीयतामा प्रश्न उठ्नु राम्रो नभएको बताए।
उनले भने, ‘असार १८ गतेसम्म अनुदानमा पनि ४ अर्ब ८० करोड मात्रै उठेको छ। सरकारको लक्ष्य थियो ५५ अर्ब र एक महिना अघि मात्रै ३८ अर्ब आउँछ भन्नुभएको थियो। ५ अर्ब चानचुनमा १२ दिनमा ३०.५ अर्ब पुग्ने आधार होला। सरकारको राजश्व र वैदेशिक अनुदानमा पनि एक महिना भित्र नै संशोधित अनुमान र वास्तविताबीचको खाडल विश्वनीयतामा प्रश्न उठाउँछ। अर्को १२ दिनमा के हुँदैछ। के आधारमा सरकारले लक्ष्य राख्यो?’