एउटा शिक्षकले कक्षा ९ मा पढ्ने छात्रालाई पठाउने म्यासेज वा सोध्ने विषय के हुन्छ ? अध्ययन वा विषयवस्तु केन्द्रित नै हुनुपर्ने हो भन्ने तपाईंको अनुमान हुनसक्छ, हुनुपर्ने पनि यही हो ।
तर, शंखमुलको लिटल फ्लावर पब्लिक स्कुलका शिक्षकले कक्षा नौ मा पढ्ने छात्रालाई पठाएको म्यासेजमा शिक्षकले ‘पिल्स खायौ ? पेट दुखेको छ कि छैन् ? तातो पानी खाउ’ जस्ता म्यासेज लेखेको विषय सार्वजनिक भएको छ ।
शिक्षकले यस्ता म्यासेज लेखेको विषय सार्वजनिक भएपछि परिवारजनले प्रहरीमा उजुरी गरेका छन् भने प्रहरीले पनि अनुसन्धान सुरु गरेको छ ।
छात्राकी दिदीका अनुसार आमाले शिक्षकसँग छोरीको आपत्तिजनक फोटो भेटेकी थिइन् । त्यसपछि आमाले शिक्षकलाई बोलाएर सम्झाएको उनले बताइन् ।
तर, शिक्षकले पठाएका विभिन्न म्यासेजहरु मोबाइलमा देखेपछि परिवारजन आत्तिएका थिए । केही म्यासेजमा शिक्षकले छात्रालाई ‘बुढी’ भनेर समेत सम्बोधन गरेका छन् भने छात्राले शिक्षकलाई ‘बाबा’ भनेकी छन् ।
शिक्षकले छात्रालाई चुम्बन गरेको, सँगै वियर पिएको, हुक्का तानेको टिकटक भिडियोहरु पनि भेटिएका छन् । म्यासेजहरु हेर्दा उनीहरुबीच शारीरिक सम्बन्ध भएको झल्किन्छ ।
त्यसैले परिवारले जबरजस्ति करणीमा जाहेरी दिने तयारी गरेका हुन् । कानूनतः १८ वर्ष मुनिको बालिकालाई सहमतिमा राखेको सम्बन्ध पनि बलात्कार मानिन्छ ।
परिवारले छोरीलाई यो विषयमा केही पनि नसोधिकन सिधै विद्यालयमा सप्रमाण खबर गरेका थिए । त्यसपछि विद्यालयले सम्वन्धित शिक्षकलाई विद्यालयबाट निश्कासन गरेको छ । तर, उनीमाथि कानूनी कारबाहीसमेत हुनुपर्ने परिवारको माग छ ।
आज १०० ग्रुपका केही अभियन्तालाई लिएर परिवारजन स्कुलमा आएका थिए । त्यसक्रममा प्रहरीलाई पनि बोलाइएको थियो । प्रहरीको प्रवेशले विद्यालयमा तनावपूर्ण माहोल बनेको थियो । परिवारजन, प्रहरी र अभियन्ताहरुबीच आजै जाहेरी दिने समझदारी भएको छ । आरोपी शिक्षक बागलुङका हुन् । उनी एक वर्षअघि मात्रै विद्यालयमा गणित शिक्षक नियुक्त भएका थिए ।
प्रिन्सिपल दीलिपकुमार सिलवालले घटना सार्वजनिक भएपछि शिक्षकलाई निष्कासन गरिएको बताए । उनले शिक्षकलाई पछि आवश्यक परेको बेला आउने शर्तमा मोबाइल राखेर जागिरबाट बिदा गरिएको पुष्टी गरेका छन् ।