राप्ट्रपति रामचन्द्र पौडेलको उपचारमा लाग्ने खर्च अन्तत: सरकारी कोषबाट खर्च हुने भएको छ । यसअघि गत १९ गते राप्ट्रपतिको सचिवालयले विज्ञप्ति जारी गर्दै आफ्नो उपचार खर्च आफैँ व्यहोर्न चाहेको उल्लेख गरेको थियो ।
तर सोमबारमात्र परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेलको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । चार्टर विमान र नियमित उडानका भाडा र उपचारबापत् ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले अर्थलाई पत्राचार गरेको हो ।
यसैबीच गत असार १२ गते बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरिसकेको छ ।
मन्त्रिपरिषद्ले गरेको निर्णय परराष्ट्र मन्त्रालयमा १५ गते प्राप्त भएको र त्यसअनुसार रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।