के प्रचण्ड भारतकै इशारामा प्रधानमन्त्री बनेका हुन् ? प्रचण्डको अभिव्यक्तिले के संकेत गर्छ ?-Sutra News

के प्रचण्ड भारतकै इशारामा प्रधानमन्त्री बनेका हुन् ? प्रचण्डको अभिव्यक्तिले के संकेत गर्छ ?

बुधबार, २० असार २०८०

बुधबार, २० असार २०८०

कमजोर जगबाट बनेको भनिएको सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकालमा केही आशालाग्दो कामको सुरुवात गरेका छन् ।



नक्कली भुटानी शरणार्थी प्रकरणपछि संगठित अपराधको जालोमा रहेको अर्को बहुचर्चित ललिता निवास प्रकरणको अनुसन्धान चलिरहेको छ । संसदीय शक्तिका आधारमा तेस्रो दलको हैसियतमा हुँदाहुँदै पनि प्रचण्डले सत्ताको नेतृत्व गर्ने अवसरको सदुपयोग गज्जबले गरेका छन् ।

सामाजिक सञ्जालमा निकै सक्रिय नेपाल सरकारका पूर्व सचीव भिम उपाध्यायले समेत सुत्र टेलिभिजनको नियमित कार्यक्रम साझा सरोकारसँग कुराकानी गर्दै प्रचण्डले गुमाउने जोखिम नभएको अवस्थामा सुशासन कायम गर्ने गरी काम गरिरहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूलाई समेत सरकारको काममा सहयोग गर्न सुझाव समेत दिएका थिए ।

तर, उनै प्रधानमन्त्री प्रचण्डले सोमबार दिएको एउटा अभिव्यक्तिले उनलाई रक्षात्मक अवस्थामा पुर्‍याईदिएको छ । सार्वजनिक कार्यक्रममै प्रचण्डले आफ्नो नेतृत्वको सरकार निर्माणमा भारतको हात रहेको अभिव्यक्ति दिएपछि राजनीति गर्माएको छ भने प्रमुख प्रतिपक्षी दलले यसै विषयमा छलफल गर्न संसदीय दलको आकस्मिक बैठक समेत बोलाएको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली पुगेको अभिव्यक्ति दिएपछि प्रधानमन्त्रीले मुलुकको सार्वभौमिकताको धज्जी उडाएको भन्दै एमालेले संसद अवरुद्ध गर्नेसम्मको तयारी गरेको हो ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय भएको एमालेको ठहर छ । प्रधानमन्त्रीको यस्तो टिप्पणी सह्य नहुने एमालेले चेतावनी दिई सकेको छ ।

हुन पनि प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले दिएको यस्तो अभिव्यक्तिपछि राजनैतिक वृत्तमा प्रचण्डलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली धाएका सिंहले के-के सम्झौता गरे भन्ने प्रश्न उठ्न थालेको छ ।

प्रचण्डलाई नै प्रधानमन्त्री बनाउन सक्ने सिंह को र कस्तो हैसियतका मान्छे हुन् भन्ने चासो समेत सुरु भएको छ । उसै पनि नेपालमा सरकार बनाउन र गिराउन भारतको हात रहने कुरा सार्वजनिक भैरहने नै विषयवस्तु हो ।

प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री जस्ता जिम्मेवार व्यक्तिहरूले नै समय समयमा यस्ता कुरा बताउँदै आएका छन् ।

सरदार सिंहकी छोरी किरण दिप सिन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याल्ली’ विमोचन कार्यक्रममा दिएको प्रधानमन्त्री प्रचण्डको उक्त अभिव्यक्तिले मुलुकको राजनीतिमा खैलाबैला मच्चाएको छ भने प्रधानमन्त्रीको उक्त अभिव्यक्तीलाई लिएर कांग्रेसका दोस्रो तहका नेताहरूले पनि असन्तुष्टि व्यक्त गरेका छन् ।

जसले प्रधानमन्त्री प्रचण्डको पद नै धरापमा पर्ने त होइन भन्ने आशंका बढेको छ । नयाँ बजेट कै क्रममा बालबाल जोगिएको सरकार प्रचण्डकै अभिव्यक्तिका कारण संकटको डिलमा पुगेको छ ।

प्रमुख प्रतिपक्षी दल एमालेका एक नेताले प्रचण्डको अभिव्यक्ति राष्ट्रविरुद्धको अपराध भएको भन्दै यसको सशक्त प्रतिकार गरिने जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट