आफूले माया गरेर पालेको कुकुरलाई कसैले नराम्रो गर्यो भने कुकुरका मालिकले के-कस्ता कदम चाल्न सक्छन् ? क्षतिपूर्ति तिराउँछन् ? वा कानुनी उपचार खोज्छन् ? तर महोत्तरीमा एक कुकुर मालिकले आफ्नो कुकुरलाई घाइते बनाउनेलाई मार्ने उद्योगसम्मको कदम चालेका छन् ।
मंगलबार महोत्तरीमा एउटा कुकुरलाई मोटरसाइकलले ठक्कर दिएपछि कुकुरका ३८ वर्षीय मालिक कौशल मण्डलले दुई राउन्ड गोली चलाएका हुन् । उनलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।
मंगलबार साँझ पौने ६ बजे रामगोपालपुर नगरपालिका-१ बसबिट्टी बजारमा गोली चल्दा ४४ वर्षका श्रवण यादव घाइते भएका छन् । उनको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीका अनुसार कौशल मण्डल र श्रवण यादवबीच कुकुरको विषयमा झगडा भएको थियो ।
प्रहरीका अनुसार मंगलबार साँझ कौशल मोटरसाइकल चलाएर बजार पुगेका थिए । त्यही बेला उनले चलाएको मोटरसाइकलले श्रवणको कुकुरलाई ठक्कर दिएको थियो । त्यसपछि श्रवणले किन ठक्कर दिइस् भनेर उनीहरूबीच त्यहीँ विवाद सुरु भयो । विवादकै क्रममा श्रवणले अपशब्द बोलेर कौशलमाथि कुटपिट समेत गरेको डिएसपी गिरीले बताए।
कुटपिट नै गरेपछि ‘गोली हान्छु’ भनेर कौशल मोटरसाइकल लिएर हिँडेका थिए । केही बेरमा फर्किँदा उनले पेस्तोल बोकेर आएका थिए।
त्यसपछि कौशलले श्रवणमाथि दुई राउन्ड गोली प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । कौशलले पेस्तोल कहाँबाट ल्याए भन्नेबारे खुलेको छैन । तर उनले प्रहरीसमक्ष पेस्तोल भेटाएको दाबी गरेका छन्। घटनाबारे थप अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।