प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भ्रष्टाचारविरोधी लडाइँमा सतिसालझैँ उभिने बताएका छन् ।
बुधबार दिउँसो कीर्तिपुरस्थित अखिल क्रान्तिकारी स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकारको संकल्पबाट भ्रष्टहरू तर्सिएको बताएका हुन् ।
उनले भने, “सरकारको नेतृत्व लिएदेखि नै देश र जनताको पक्षमा दृढतापूर्वक काम गर्ने अठोट गरिरहेको छु। भ्रष्टहरूमाथि कारबाही सुरु भएको छ । ललिता निवासको फाइल फेरि खोलिएको छ । यो प्रक्रिया रोकिन्न, हेर्दै जानुहोला- थप फाइलहरू खोलिन्छ र कारबाही गरिन्छ।”
“२०६४ को निर्वाचनमा हामीले राम्रो परिणाम ल्यायौं । तर, पार्टी एकताबद्ध हुन सकेन, टुटफुट र विभाजनले आन्दोलन कमजोर भयो” उनले भने, “फेरि एउटा नयाँ परिस्थिति बनेको छ । माओवादी शक्तिहरूबीच एकताको राम्रो आधार बन्दैछ । पार्टी एकता संयोजन समिति बनाइन्छ र बृहत् एकतासहित अगाडि बढिन्छ।”
“घेरा हाल्ने, भ्रम छर्ने प्रतिक्रियावादी षड्यन्त्र अहिले पनि जारी छ, जुन नीति हिजो पनि थियो” उने, “यो आफैंमा वर्गसंघर्ष हो । वर्गसंघर्षको चरित्रमा फेरबदल आएको छैन, रूप मात्रै फेरिएको हो।”
“इतिहासको तागतको बलमा हामी सरकारमा छौँ, कतिलाई यो कुरा पचिरहेको छैन। भ्रष्टाचारविरोधी अभियानपछि भ्रष्टहरू विक्षिप्त छन्, हैरान र परिसान छन्। तर, हामी देश र जनताको पक्षमा लागिरहन्छौँ। सरकार असफल पार्ने, कुप्रचार गर्ने षड्यन्त्रहरू छन् । तर, तिनीहरूलाई जनताले नै ठीक पार्छन्” प्रधानमन्त्रीले भने ।