एउटा सिनेमा र केही म्यूजिक भिडियोमा अभिनय गरेकी एलिजा गौतमले सक्रिय राजनीतिबाट आफू अलग भएको घोषणा गरेकी छन्।
फेसबुकमा स्टाटस लेख्दै उनले यसको जानकारी दिएकी हुन्।
‘समाजसेवा निरन्तर, सक्रिय राजनीतिबाट बिदा’ भन्दै उनले फेसबुकमा आफू राजनीतिमा भन्दा समाजसेवामा सक्रिय हुने लेखेकी छन्।
केही दिन अगाडि धरान पुगेकी उनले धरानका मेयरलाई १० वटा सावेल हस्तान्तरण गर्नुकासाथै वृक्षारोपण समेत गरेकी छन्।
नागरिक उन्मुक्ती पार्टीको महिला विभाग प्रमुखको जिम्मेवारी सम्हालेकी एलिजाले पार्टीलाई दुई साता अगाडि राजीनामा बुझाएकी थिइन्।
स्वतन्त्र भएर काम गर्ने आफ्नो इच्छाका कारण पार्टी राजनीतिबाट सन्यास लिएको उनको भनाइ छ।
त्यसो त पार्टी प्रवेश गर्ने बेलामा उनले आफ्ना निकटवर्तीहरुसँग आफू पार्टीका तर्फबाट मन्त्री हुने तयारीमा रहेको बताउने गरेकी थिइन्। उनले मन्त्री हुने लोभमा नै पार्टी प्रवेश गरेको बताइन्छ।
एक अनलाइनलाई दिएको प्रतिक्रियामा एलिजाले ‘कुनै पार्टीमा आवद्ध हुँदा पार्टीकै निर्देशन अनुसार काम गर्नुपर्दो रहेछ । अब, कसैको डर र त्रासमा नलागी काम गर्छु । पार्टीमा लागेपछि आफ्नो तरिकाले समाजसेवा पनि गर्न नपाइने रहेछ । पहिले जस्तो काम गर्न पनि नपाइने, दबाबमा बस्नुपर्ने भएकाले अब मैले सक्रिय राजनीतिबाट बिदा लिएकी हुँ’, भनेकी छन्।
एलिजाले पार्टी प्रवेश गर्दा पनि धेरैलाई आश्चर्यमा पारेकी थिइन भने उनको यो बहिर्गमनको घोषणाले पनि आश्चर्यमा पारेको छ।