युवती मोहले बदनाम प्रहरी अधिकारीहरु: को-को जेल पुगे, को-को छन् निलम्बनमा ! (नामसहित)-Sutra News

युवती मोहले बदनाम प्रहरी अधिकारीहरु: को-को जेल पुगे, को-को छन् निलम्बनमा ! (नामसहित)

बिहिबार, २१ असार २०८०

बिहिबार, २१ असार २०८०

नागरिकलाई बर्दी बिनाको प्रहरी र प्रहरीलाई बर्दी सहितको नागरिक मानिन्छ अर्थात् नागरिकको सबैभन्दा नजिक रहेर नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीको प्रमुख दायित्व र कर्तव्य हो । तर, केही गलत नियतका प्रहरी अधिकृतका कारण सिंगो प्रहरी संगठन बदनाम गएको छ ।



गएको सोमबार मात्रै प्रहरी निरीक्षक सुवास तिमल्सिनाले एक युवतीलाई आपत्तिजनक म्यासेज पठाएको कुरा सार्वजनिक भएको थियो ।

‘अब बोल्ने’ नामक ट्विटर अकाउन्टबाट प्रहरी हेडक्वाटरलाई मेन्सन गर्दै सार्वजनिक गरिएको म्यासेजका कारण प्रहरी निरीक्षक तिमल्सिना आफैं अनुसन्धानको घेरामा परेका छन् ।

एक युवतीलाई ‘म तिम्रो शरिरको प्रशंसक हुँ’ भन्दै म्यासेज पठाएका थिए । सुवास तिमिल्सिना नामक ह्यान्डल र ‘पीडित’ महिलाबीच विभिन्न संवाद भएको देखिन्छ । स्क्रिनसट सार्वजनिक गर्दै भनिएको छ– ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’

‘तिमीलाई एउटा कुरा थाहा छ ? म तिम्रो बडी फिगरको ठूलो फ्यान हो,’ इन्स्पेक्टर सुवास तिमिल्सिनाको भनिएको ह्यान्डलबाट मेसेज गरिएको छ । स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको कुराकानीमा तिम्सिनाले फोटो पठाउन आग्रह गरेका छन् । उनले भनेका छन्, ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ) ।’

पीडितले आफू र आफ्नो शरीरबारे एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेका छन् । ‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेका छन् । तिम्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।

तिम्सिना पुनः आफूलाई विश्वास गर्न आग्रह गर्छन् र भिडिओ संवादमा आउनसमेत आग्रह गर्छन् । सामाजिक सञ्जालमा यो संवाद ‘भाइरल’ बनेको छ

घटना बाहिरिएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले डीएसपी प्रकाश दाहालको नेतृत्वमा छानविन समिति गठन गरेको छ । घटनाबारे छानविन सुरु गरिएको कास्की प्रहरीले जानकारी दिएको छ । तर, तिम्सिनाले भने आफ्नो इन्स्टा एकाउन्ट ह्याक भएको भन्दै चोखिन खोजेका छन् । आफू चोखिन उनले प्रहरीमा निवेदन समेत दिएका छन् ।

को को छन् त यस्ता आरोप खेप्ने प्रहरी अधिकारी ?

एसएसपी योगबहादुर पाल

महिला प्रहरीलाई ‘गुड फ्राइडे’ मनाऔं भनेर प्रस्ताव राख्दा नेपाल प्रहरीका एसएसपी योगबहादुर पाल निलम्बनमा परेका छन् ।
गत १९ जेठमा उनले महेन्द्रनगरस्थित कार्यालयमा एक महिला हवल्दारलाई आफ्नो क्वार्टरमा बोलाएर गुड फ्राइडे मनाउन प्रस्ताव राखेका थिए ।
प्रतिकार गर्दै ती हवल्दारले एसएसपी पालविररूद्ध उजुरी गरे । त्यही दिन उनलाई प्रहरी प्रदेश कार्यालय, महेन्द्रनगरबाट हटाउँदै एसपी श्यामसिंह चौधरीको नेतृत्वमा छानबिन समिति गठन गरियो । छानविन समितिले एसएसपी पालबाट दुर्व्यवहार भएको निष्कर्ष निकाल्दै उनलाई कारबाही सिफारिस गर्यो । त्यसपछि उनी निलम्बनमा परे ।

एसएसपी पालको पृष्ठभूमि राम्रो थिएन । २०७१ सालमा उनी सोलुखुम्बुका डीएसपी थिए । जिल्लामै कार्यरत एक कर्मचारीका छोरीलाई कुदृष्टि लगाएका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले पाललाई त्यतिबेला नै जागिरबाट हटाउन लागेका थिए । तर, पालका श्रीमतीले अर्याललाई भेटेर रोइकराई गरी सुधार्ने प्रतिबद्धता गरेर उनको जागिर जोगाइदिएका थिए । तरपनि उनको आचरण सुध्रिएन ।

एसएसपी सौरभ राणा

तत्कालीन संघीय प्रहरी कार्यालय धरानका एसएसपी सौरभ राणामाथि पनि २०७६ माघमा बलात्कारको आरोप लाग्यो । एक महिलाले एसएसपी राणाले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीमा उजुरी दर्ता गराएका थिए ।
प्रहरीले उजुरीकर्ता महिलाको स्वास्थ्य परीक्षण गराएर बयान लियो । घटनास्थल मुचुल्का पनि उठायो । महिलाले उजुरी दिएको भोलिपल्ट (माघ १८ गते) एसएसपी राणा पक्राउ परे ।

तर, जुन मिति र स्थानमा बलात्कार भएको भन्दै ती महिलाले जाहेरीमा उल्लेख गरेका थिए त्यसदिन एसएसपी राणाको मोबाइल लोकेसन धरान नभएर काठमाडौं देखाएको बताइयो । त्यसपछि एसएसपी राणाले उन्मुक्ति पाएका थिए ।

एसएसपी राकेश सिंह

प्रहरीको विधि विज्ञान प्रयोगशालामा कार्यरत एसएसपी राकेश सिंहमाथि यौन दुर्व्यवहारको आरोप लागेको थियो । आफ्नै कार्यालयका एक महिला जवानलाई बलात्कार गरेको आरोप लागेको थियो । एसएसपी सिंहले ती महिला जवानलाई यौन प्रस्ताव गरेको अडियोसमेत बाहिरिएको थियो ।
२०७५ साउनमा एसएसपी सिंहलाई कारबाही गर्न भन्दै हेडक्वार्टरमा उजुरी पर्यो । महिला प्रहरीलाई शारीरिक सम्बन्ध राख्न करकाप गर्दै आएको र नमानेमा सरुवा गर्ने धम्की दिने गरेको उजुरीमा उल्लेख गरिएको थियो ।
आरोप लाग्दा सिंह एसपी थिए । तर, कारबाही हुनुको साटो उनी बढुवा भएर एसएसपी भए । उजुरीको पाँच वर्ष बित्दा समेत एसएसपी सिंहमाथि कारबाही भएको छैन ।

इन्स्पेक्टर अपूर्व ढुंगाना

इन्स्पेक्टर अपूर्व ढुंगाना त बलात्कार आरोपमा दोषी नै ठहरिए । उनी अहिले धादिङको जेलमा सजाय काटिरहेका छन् । २०७९ कात्तिक १५ गते धादिङ जिल्ला अदालतले उनलाई दोषी ठहर गर्दै जेल चलानको आदेश दिएको थियो

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख रहेका बेला ढुङ्गानाले महिला प्रहरी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेको थियो । ती महिला प्रहरीले उजुरी दिएपछि उनी २०७९ असोज ५ गते पक्राउ परेका थिए ।

डीएसपी राजकुमार खिउजु

डीएसपी राजकुमार खिउजुले बलात्कार आरोपमा एक वर्ष जेलमै बिताए । प्रहरी वृत्त चापागाउँको प्रमुख भएको उनलाई बलात्कारको आरोप लागेको थियो ।

एक महिलालाई खिउजुविरुद्ध उजुरी दिएपछि उनलाई २०७६ फागुन २१ गते जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको थियो । सेवामा रहँदा बलात्ककार गरेको भन्दै एक महिलाले अवकाशपछि खिउजुविरुद्ध उजुरी दिएका थिए ।

प्रहरी रिपोर्ट बनाउन प्रहरी वृत्त चापागाउँमा सोधपुछ जाँदा खिउजुले दबाब र प्रभावमा पारेर बलात्कार गरेको भन्दै ती महिलाले उजुरी दिएका थिए । त्यसपछि प्रहरीले उनलाई पक्राउ गरी बलात्कारको कसुरमा मुद्दा चलाएको थियो । उनी पुर्पक्षका लागि जेल समेत चलान भए ।
एक वर्ष जेल बसेपछि जिल्ला अदालत ललितपुरले २०७८ वैशाख ९ गते उनलाई सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट