प्रहरीले जेठ ३१ गते भएको १६ वर्षीया नाबालिका बलात्कार प्रकरणमा ठमेलस्थित लर्ड अफ ड्रिंक्स (एलओडी)का दुई सञ्चालकविरूद्ध पक्राउ पुर्जी लिएको छ।
जेठ ३१ गते ललितपुरको बागडोलमा १६ वर्षीया नाबालिकाको बलात्कार भएको थियो।
सो घटनामा पोखरा घर भइ बागडोल बस्दै आएका ५० वर्षीय सुदन कोइराला पक्राउ परेका छन्।
प्रहरीले आफूमाथि जबरजस्ती करणी भएको भन्दै नाबालिकाले खबर गरेपछि उनी पक्राउ परेका थिए।
नेपालको कानुनले नाबालिकाहरूलाई मादकपदार्थ बेच्न तथा पिउन निषेध गरेको छ। उनीहरुलाई यस्ता व्यस्कहरु जाने क्लबमा जान पनि छुट छैन। क्लबहरुमा प्रवेश गराउँदा त्यहाँ प्रवेश गर्नेहरुको अनिवार्यरुपमा परिचयपत्र जाँच गर्नुपर्छ।
एलओडीले यही काम नगरेको र घटना घटनुमा सहायक सिद्ध भएकाले संचालकहरुका विरूद्ध पक्राउ पुर्जी लिएको हो।
कम्पनीको प्रबन्धपत्रमा संचालकका रुपमा रूदिलबल्लव श्रेष्ठ र राजुसिंह सुवालकि नाम रहेको छ। यध्यपी नेपालको सर्वोत्कृष्ट तथा विश्वमा पनि नाम कमाएको यो क्ल्बमा अप्रत्यक्षरुपमा धेरै जनाको लगानी रहेको बताइन्छ।
प्रहरीले सञ्चालकद्वयविरूद्ध बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार कसुरमा पक्राउ अनुमति लिएको हो।
उक्त ऐनमा बालिगहरूका लागि खोलिएका डान्स बार, क्यासिनो जस्ता मनोरञ्जनस्थलमा प्रवेश वा प्रयोग गराउने कार्यलाई बालबालिकाविरूद्धको हिंसा गरेको मानिने भनिएको छ।
यस ऐनको दफा ६६ को उपदफा २ को (ख) अनुसार कसुर गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना र एक वर्षसम्म कैद सजाय हुने भनिएको छ।
प्रहरीले संचालकहरुलाई कर्मचारीले गरेको गल्ती भएकाले भनेर छोड्न नमिल्ने भन्दै पक्राउ गर्न लागेको हो।
एलओडी मात्र होइन नेपालका धेरै यस्ता क्लबहरुमा उमेरसम्बन्धी निगरानीमा संचालकहरु अनुशासित छैनन्।
हाल पक्राउ पूर्जी जारी भएका दुबै जना मोबाइल अफ गरेर बसेका कारण उनीहरुको लोकेसन ट्रेस हुन नसकेर पक्राउ पर्न सकेका छैनन्।
प्रहरीले घटनाको रातको सिसिटिभी फुटेजमा पीडित र अर्की किशोरीको परिचयपत्र नहेरी प्रवेश गरेको देखिएको छ। कुनै पनि क्लबमा प्रवेश गराउँदा परिचय पत्र हेरेरमात्र प्रवेश दिनुपर्छ।
घटना सार्वजनिक भएपछि सूत्र न्यूजले परिचयपत्र नहेरी प्रवेश दिने गरिन्छ हो भनेर राखेको प्रश्नमा क्लबले गैरजिम्मेवारपूर्ण जवाफ फर्काएको थियो।
सूत्रको प्रश्नमा एलओडी डान्स क्लबका फ्रन्ट डेक्स हेर्ने सहदेव सेढाईले उक्त दिनमा पीडित बालिका आफ्नी दिदीको साथमा एलओडी आएको र आफ्नो उमेर पनि २३ वर्ष बताएको दाबी गरे । उनको उमेर खुल्ने कुनै कागजात हेरिएको थियो कि थिएन भन्ने थप प्रश्नमा ‘सबैको आइडी हेर्न नभ्याउने’ स्वीकार गर्दै पीडित बालिकाको पनि कुनै थप कागजपत्र नहेरेको स्वीकार गरे ।
प्रहरीले निकालेको सिसिटिभी फुटेजमा उनीहरुले किशोरी र उनकी साथी भनिएकी अर्की किशोरीलाई त्यतिकै प्रवेश गराएको देखिन्छ।
ललितपुरका एसएसपी शिद्धिविक्रम शाहले सो घटनामा पक्राउ परेका सुदनले आफूले एलओडीबाट ती किशोरीलाई लिएर आएको स्वीकार गरेको जानकारी दिए।
प्रहरीले उनीमाथि जबरदस्ती करणीमा अनुसन्धान गरिरहेको छ।
शाहले ती किशोरीसँगै गएकी भनिएकी उनकी साथीको पनि खोजी भइरहेको जानकारी दिएका छन्।
‘सिसिटिभीबाट उनको फोटो प्राप्त भएको छ, हामी खोज्दै छौं। ती साथीका बारेमा केकसरी भनेर पीडितलाई सोधेर ज्यादा प्रेसर दिन नमिल्ने भएकाले थप कुरा उनकी साथी भनिएकी किशोरी पक्राउ परेपछि खुल्नेछ’, उनले भने।
पीडित किशोरी र उनीबिच फेसबुकबाट चिनजान भएको उनको भनाइ छ।
फेसबुकमा भएको चिनजानका आधारमा नै उनी क्लब पुगेकी थिइन र त्यही सुदनसँग उनको भेट भएको थियो।
त्यसपछि ५० वर्षीय सुदनले किशोरीलाई गाडीमा साथी भएकै ठआउँमा लैजाने भन्दै आफूसँगै लिएर गएका थिए।
फाइबरको काम गर्ने सुदनले उनलाई आफ्नो कार्यालयमा लगेर बलात्कार गरेका थियो। सोको बारेमा किशोरी स्वंयले प्रहरीलाई खबर गरेपछि उनी पक्राउ परेका थिए।