‘रानी’ फिल्ममा डेब्यू गर्नुअघि सारुक ताम्राकारले सर्ट भुभी ‘इन टान्समीसन’मा पनि काम गरेका थिए। यो सिनेमा साथीसाथीहरु मिलेर बनाएकाले भारतमा अभिनय पढेर फर्किएका सारुकले अभिनयसँगै सहायक निर्देशन र सम्पादनमा समेत संलग्न थिए।
यसमा उनका बाबुले पनि सानो भूमिकामा अभिनय गरेका छन्। यो सिनेमाले विभिन्न अन्तरर्राष्ट्रिय फिल्म फेस्टिवलहरुमा सकारात्मक प्रतिक्रिया पाएको थियो ।
तर सबैभन्दा ठूलो हौसला भने बाबुको प्रतिक्रियाबाट मिल्यो। यसमा गरेको काम हेरेपछि बाबु सानुले आफ्ना एकमात्र सन्तानको कामको तारिफ गर्दै काँध थप्थपाएका थिए।
सायद सानु छोराले आफ्नो बिंडो थामेकोमा स्वभाविक खुशीमा थिए होलान्, किनकी आफ्नो बिडों थाम्दा हरेक बाबु खुशी नहुने कुरै छैन्। हेर्दा चक्लेटी अनुहार र राम्रो उचाइ भएका सानुले त्यतिबेला आफ्नो छोरालाई भविष्यको स्टार अभिनेताका रुपमा देखेको हुनुपर्छ।
यो थपथपाइले सारुक यति खुशी भएकी उनले अभिनयलाई नै करियर बनाउने सोचे र रंगमंचतर्फ पाइला चाले।
यसबारेमा उनले एक अन्तरवार्तामा खुशीकासाथ सुनाएका छन्। यसै सिलसिलामा उनले भारतमा गएर पनि अभिनय सिके।
उनले ‘रानी’ फिल्मबाट डेब्यूको मौका पाए। सिनेमाले सफलता प्राप्त नगरेपनि नेपाली सिने उद्योगले भने एउटा राम्रो हिरो लुक्सको चकलेटी अभिनेता पाएको थियो। त्यसयता उनले ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘नमरी बाचे’ सिनेमामा काम गरे।
पछिल्लो सिनेमा ‘ह्यासट्याग माया’को लागि त उनले ३ वर्षको समय खर्चेका थिए।
तर आज समयको नियती भनूँ या प्रारब्धको खेल, स्याबास भने थपथापाएको आफ्नो छोराको त्यही काँधले आफूलाई कुनै दिन बोकेर मोक्षको बाटो देखाउला भनि सोचेका सानु ताम्राकारले उल्टै आज छोरालाई आफ्नो काँधमा सकीनसकी बोकेर अन्तिम बिदाइ दिनुपर्यो, मुखमा जल दिनुपर्यो, दागबत्ती झोस्नुपर्यो।
पशुपति आर्यघाटमा छोरालाई अन्तिम बिदाइ दिदैं गर्दा आफूलाई सम्हाल्न नसकिरहेका सानुको पीडा सायद त्यस्तै पीडा भोगेका बाबुले मात्र बुझ्न सक्लान।
आफूअघि सन्तानको बिदाइ, एउटा त्यस्तो बिदाइ जसको कल्पना कोही बाबुआमा गर्दैनन्।
दागबत्ति दिइरहँदा ३१ वर्षको उमेरमा छोरो गुमाउनुको पीडा सानुको आँखा र अनुहारमा स्पष्ट झल्किन्थ्यो। सारुकको अन्तिम बिदाइमा पशुपति पुगेका सानुका सहकर्मी सिनेकर्मी, पत्रकार तथा सारुकका समकालिन कलाकारहरु यो विश्मयलाई बडो दुःखको साथ हेरिरहेका थिए। उनीहरुमा हिजो भोलि हुने सुटिङको सिन छलफल गरेर निस्केका सारुकले कसरी यस्तो अप्रिय निर्णय लिए भन्ने प्रश्न थियो।
सारुक पछिल्लो समय ‘ह्यासट्याग माया’को रातिको सुटिङ सकेर घर फर्किदैं थिए। बाटोमा यसै सिनेमा प्रोडक्सन म्यानेरज अरुण रेग्मी सुटिङको स्पटको अबलोकन गर्न बुढानिलकण्ठ फर्किदै थिए। उनीहरु बाटोमा क्रस भए। आआफ्नो सवारीसाधानमा भएकाले हात हलाएर उनीहरु आफ्नो बाटो लागे।
त्यतिबेलासम्म सामान्य अवस्थामा देखेका अरुणले अहिलेसम्म सारुकले किन यस्तो गरे अझै बुझ्न सकेका छैनन्। आर्यघाटमा अन्तिम बिदाइ गरेर फर्किदा पनि उनको मनले यही प्रश्न गरिरहेको छ।
सारुकले किन यस्तो गरे?
आफन्तहरुको यसमा अनुसन्धान हुनुपर्ने मत छ।
यसको सबैभन्दा ठूलो बज्रपात खेपेका सानु ताम्राकार दम्पतीले हिजो छोरालाई एउटा ८४ पूजाको कार्यक्रममा सँगै लिएर जान चाहेका थिए। तर राति ५ बजे सुटिङ सकेर दुई बजे रातोपुल स्थित आफ्नो निवास पुगेका सारुकले आमाबाबुलाई तपाईंहरु जाँदै गर्नु म आउँछु भने। तर यसबीच आमाले किन नआएको भन्दै पटकपटक फोन गरिन, उनले जवाफमा हस् म आउँछु-आउँछु भने तर गएनन्।
रातिको ९ बजे ताम्राकार दम्पती घर पुगे। घरको मूलढोका भित्रबाट बन्द थियो। छोरालाई फोन गर्दा फोन स्विच अफ थियो। धेरै बेर ढोका नखोलेपछि छिमेकीहरुले प्रहरीलाई खबर गरे।
ढोका फेरेर ११ बजे प्रहरी भित्र प्रवेश गर्दा सारुक घरको भर्याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परे।
यो दृश्यले ताम्राकार दम्पतीलाई के बित्यो? उनीहरु बाहेक कसैले नबुझ्ला तर नेपाली सिनेजगतले एउटा होनहार प्रतिभा भने गुमाएको छ।
उनले आफ्नो अन्तिम सिनेमा पनि अपुरो नै छोडेर गएका छन्।
ह्यासट्याग अलबिदा सारुक!