अज्ञात रोगका कारण एउटै गाउँमा ३०० जना बिरामी-Sutra News

अज्ञात रोगका कारण एउटै गाउँमा ३०० जना बिरामी

शनिबार, २३ असार २०८०

शनिबार, २३ असार २०८०

कालीकोटको तिलागुफा नगरपालिका–१० रुडुगाउँमा अज्ञात रोगका कारण ३११ जना बिरामी परेका छन् ।



अज्ञात रोग फैलिएको जानकारी पाएपछि शुक्रबार जिल्ला अस्पताल र तिलागुफा नगर अस्पतालको चिकित्सकसहितको टोली रुडुगाउ पुगेको छ ।

चिकित्सकसहितको टोलीले बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको जिल्ला जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कटक महतले जानकारी दिए । बिरामीमा ज्वरो आउने, घाँटी र टाउको दुख्ने, टन्सिल हुने, अनुहारमा दाग देखिने, हातखुट्टा सुनिनेलगायत लक्षण देखिएको छ ।

“गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ”, उनले भने । नौ बिरामीको रगतको नमुना सङ्कलन गरेर सुर्खेत पठाइएको महतले बताए ।

अधिकांश बिरामी महिला र बालबालिका रहेको तिलागुफा नगर अस्पतालका डा टङ्कप्रसाद आचार्यले जानकारी दिए ।
“शुक्रबार १९४ महिला र ११७ पुरुषको स्वास्थ्य जाँच गरी औषधि वितरण गरेका छौँ”, उनले भने, “उपचार गर्न आउने २०६ जना १५ वर्षमुनिका छन् ।” सबै बिरामीमा एउटै किसिमको लक्षण भएको डा आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट