वैज्ञानिकहरूको अध्ययन : नेपालमा यौन हिंसा बढ्नुको कारण बढ्दो तापक्रम-Sutra News

वैज्ञानिकहरूको अध्ययन : नेपालमा यौन हिंसा बढ्नुको कारण बढ्दो तापक्रम

शनिबार, २३ असार २०८०

शनिबार, २३ असार २०८०

नेपालमा दैनिक जसो यौन हिंसाका घटनाहरू बढेको विभिन्न तथ्यांकले देखाउँछ । सामाजिक सञ्जाल तथा बहसमा विभिन्न तर्क हुन्छन् । कसैले घटना नबढेको तर सार्वजनिक हुन थालेको भनेका छन् भने कसैले घटना बढेकै हो भनेर तर्क गर्छन् ।



तर एक अध्ययनले भने रोचक तथ्य सार्वजनिक गरेको छ । बेलायत, चीन, पाकिस्तान, अस्ट्रेलिया, जर्मनी र तान्जानियाका वैज्ञानिकहरूले अचम्मको रिसर्च सार्वजनिक गरेका हुन् । उनीहरूले सन् २०१० को अक्टोबर १ देखि सन् २०१८ सम्म गरेको एक अध्ययन रिपोर्टअनुसार नेपाल लगायत दक्षिण एसियाली मुलुकहरूमा बढ्दो तापमानका कारण महिलामाथिको यौन हिंसामा वृद्धि भएको हो ।

नेपाल, भारत तथा पाकिस्तानका महिलाहरूमा गरिएको अध्ययनले जलवायु परिवर्तनसँगै बढेको तापमानसँगै महिलामाथिको घरेलु तथा यौनजन्य हिंसामा तीव्र रूपमा वृद्धि भइरहेको देखाएको हो ।

अध्ययन अनुसार विश्व उष्णीकरणको असरका कारण निजी सम्बन्धमा पनि पर्न थालेको छ र महिलामाथि अन्तरंग पार्टनरबाट हुने हिंसामा बढिरहेको छ । हरेक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले महिलामाथिको शारीरिक तथा यौन हिंसामा ६.३ प्रतिशतका दरले बढ्ने अध्ययनको निष्कर्ष छ ।

नेपाल, भारत तथा पाकिस्तानका १५ देखि ४९ वर्ष उमेरका एक लाख ९४ हजार महिलामा गरिएको अध्ययनका क्रममा तापक्रम वृद्धिसँगै महिलाहरूमाथि भावनात्मक, शारीरिक तथा यौन हिंसाका घटनामा वृद्धि भइरहेको तथ्य सार्वजनिक गरिएको हो ।

अध्ययनमा इपिडिमियोलोजी तथा अधिक तापक्रमसँगको तुलनात्मक डाटा विश्लेषणका क्रममा बढ्दो तापक्रमसँगै महिलामाथि अतरंग पार्टनरको हिंसाका घटनामा वृद्धि भएको उल्लेख छ ।

शोधकर्ताका अनुसार वार्षिक १ डिग्री सेल्सियस तापक्रम वृद्धिले इन्टिमेट पार्टनर भाएलेन्स (आईपीभी) को मात्रा ४.९ प्रतिशतले बढ्दछ । यसमा सबैभन्दा धेरै शारीरिक हिंसा रहेका छन् । शारीरिक हिंसा २३ प्रतिशत रहँदा भावनात्मक हिंसाको मात्रा १२.५ र यौन हिंसा ९.५ रहेको पाइयो ।

शोधकर्ताहरूले यो शताब्दीको अन्त्यसम्ममा तापमान वृद्धिका कारण हुने अन्तरंग पार्टनरको हिंसामा २१ प्रतिशतले वृद्धि हुने आङ्कलन गरेका छन् ।

जलवायु परिवर्तन तथा उष्णीकरणको दरलाई कम गर्न नसकिएमा महिलामाथिको हिंसामा झनै बढोत्तरी हुनेछ । जसबाट सन् २१०० सम्ममा शारीरिक हिंसाका घटनामा २८.३ प्रतिशत, यौन हिंसा २६.१ प्रतिशत र भावनात्मक हिंसा ८.९ प्रतिशत पुग्ने अनुमान गरिएको छ । शोधकर्ताहरूले उक्त शोध प्रतिवेदन जामा साइकइट्रीमा प्रकाशित गरेका हुन् । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट