प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । मधेश सरकारका अर्थमन्त्री संजयकुमार यादवले मनोमानी ढंगबाट करोडौं रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।
आर्थिक वर्षको अन्तिम समयमा के कति कारणले बजेट रकमान्तर गरेको भन्ने जवाफ माग गर्दै एमाले शनिबार बैठक सुरु हुनेबित्तिकै प्रदेशसभा अवरुद्ध गरेको हो ।
एमालेका प्रमुख सचेतक लखनदास तत्माले मुख्यमन्त्री यादवको जवाफ माग गर्दै भने, ‘एमालेका मेयर भएको विदेह नगरपालिकामा ससर्त अनुदान किन दिइएन ? असार मसान्तमा सर्लाही जिल्लामा २२ वटा योजना रकमान्तर गरिएको छ । करिब १२ देखि १४ करोड रुपैयाँ के कति कारणले राखेको ? रेडबुकमा बिचौलियाबाट ५ देखि १० प्रतिशत कमिसन उठाएर योजना समावेश भएको सुनेको छु ।’
त्यसपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।