राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि आज नेकपा एमालेका महासचिव शंकर पोखरेल र नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल खनिएका छन् । छुट्टाछुट्टै स्थानमा भएको कार्यक्रममा बोल्दै उनीहरू रास्वपाप्रति आक्रोशित बनेका हुन् ।
नेकपा एमालेको रामेछाप काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै एमाले महासचिव पोखरेलले भने, ‘सोसल मिडियामा छाएका सेलिब्रेटी भेला गरेर राजनीतिक दलको नेतृत्व हुन सक्दैन । सोसल मिडियामा लोकप्रियता हासिल गर्नेवित्तिकै समाजको नेतृत्वको रुपमा हामी योग्य छौं भन्ने मान्यता टिकाउ मान्यता होइन ।’
उनले कुनै समय भारतीय अभिनेता अमिताभ बच्चन पनि राजनीतिमा आएको र प्रतिष्ठित राजनीतिज्ञ कमलापति त्रिपाठीलाई हराएको भन्दै एक कार्यकालमै बच्चनले यथार्थ बुझेर राजनीति छाडेको टिप्पणी गरे ।
एउटा क्षेत्रको लोकप्रियतालाई अर्को क्षेत्रको भावनामा प्रयोग गर्ने कुरा जनताको भावनामाथि इमोसनल ब्ल्याकमेलिङ हो भन्ने कुरा बुझ्नुपर्ने उनको जिकिर थियो ।
त्यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले नयाँ र स्वतन्त्र भनिएका दलहरुको हविगत छिट्टै पुरानै दलको जस्तो हुने दाबी गरेका छन्।
शनिबार पार्टीनिकट कानुन व्यवसायीहरूले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा महासचिव भूसालले दलाल, पुँजीवादविरुद्ध कसैले आवाज नउठाएकाले छिट्टै उनीहरू पनि पुराना पार्टीजस्तै हुने बताए।
‘त्यस्तो सुशासनको कुरा उठाएका छैनन्, जसले रोजगारी सृजना हुन्छ । र, हाम्रा बच्चाबच्चीहरुले नयाँ जिन्दगीका लागि रोजगारी पाउँछन । र, त्यो भन्दा राम्रो रोजगारी पाउँछन । यसतर्फ उनीहरुका पनि मुद्दा केन्द्रित छैनन्,’ उनले भने।
भूसालले यस्ता कुराहरू उठाउने पार्टी एकीकृत समाजवादी मात्रै रहेको पनि दाबी गरे।