सभामुख देवराज घिमिरेसँग नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल–हेलले आइतबार बिदाइ भेट गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा दुई देशको सम्बन्ध, नेपाली श्रमिकको रोजगार सुरक्षा, व्यापार, उड्डयन, संसदीय आदान प्रदान लगायतका विषयमा कुराकानी भएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।
सात वर्षे कार्यकाल पूरा गरेर स्वदेश फर्कन लागेका राजदूत अल–हेलले सभामुख घिमिरेसँग बिदाइ भेट गरेका हुन् । सो क्रममा सभामुख घिमिरेले नेपाल र कतारबीच रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा झनै प्रगाढ भएर जाने विश्वास व्यक्त गरेका छन् ।
उनले कतारमा ठूलो संख्यामा नेपाली श्रमिकहरु कार्यरत रहेको बताउँदै उनीहरुको रोजगार र सामाजिक सुरक्षामा ध्यान दिन आग्रह गरे । ‘हामीबीच राजनीतिक, साँस्कृतिक र जनता जनताबीचको सम्बन्ध रहिआएको छ,’ सभामुखले भने, ‘आगामी दिनमा पनि हाम्रो सम्बन्ध उस्तै प्रगाढ रहनेछ ।’
सभामुख घिमिरेले नेपाली अलैंची, चिया, कफी, पानी लगायत कृषिजन्य सामग्रीलाई सोझै कतार निर्यातको व्यवस्था मिलाउन आग्रह गरे ।