गत असार २० गतेदेखि लगातार एमालेले संसद अवरुद्ध गर्दै आएको छ । संसद अवरुद्ध खुलाउन आज प्रधामन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र संसद अवरुद्ध गर्दै आएको एमाले अध्यक्षबीच आज बिहान बालुवाटारमा छलफल भयो ।
छलफलपछि सदनमा प्रधानमन्त्रीले चित्तबुझ्दो भाषामा अभिव्यक्ति सच्याउँदै आत्माआलोचना गर्ने सहमतिपछि एमालेले सदनको गतिरोध हटाउन सहमत भएको थियो । बैठकबाट बाहिरिने क्रममा अब सदन खुल्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा एमाले अध्यक्ष ओलीले भनेका थिए, ‘भरे देख्नुहुन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले आत्माआलोचना गर्ने र अगाडि बढ्ने समझदारी कार्यान्वयन नहुँदै फेरि अड्चन आएको छ । बालुवाटारबाट निस्केका एमाले अध्यक्ष ओलीले बानेश्वर पुगेर प्रधानमन्त्रीलाई फोन लगाएका थिए । ओलीले प्रधानमन्त्री दाहाललाई फोन लगाउनुको कारण थियो असार १८ को घटनाबारे असार २१ मा प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जारी गरेको विज्ञप्ति ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार आचार्यले असार २१ मा जारी गरेको विज्ञप्ति ओलीले आजमात्रै पढ्न पाएका थिए ।
ओलीले विज्ञप्ति पढेपछि प्रधानमन्त्री दाहाललाई फोन गरेर विज्ञप्तिमा एमालेप्रति गम्भीर आरोप लगाउनुभएको रहेछ, त्यो फिर्ता लिन्छु भन्नुस् । होइन भने विज्ञप्तिमा उल्लेख भएअनुसार गल्ती गरेको हो भने प्रमाणित गरेर, समातेर लैजानुभए हुन्छ भन्दै फोन गरका एमालेका एक नेताले बताए ।
प्रधानमन्त्रीले जवाफमा विज्ञप्ति आफूले नलेखेको र सल्लाह गर्छु भनी फोन राखेपछि आजका लागि बोलाइएको बैठक भोलिसम्म स्थगित भएको हो । प्रधानमन्त्रीको आग्रहमा सभामुख देवराज घिमिरेले सोमबार ३ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।