ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै माधव नेपालले प्रचण्डलाई सीमा नाघेर नबोल्न चेतावनी-Sutra News

ललिता निवास प्रकरणमा आफू निर्दोष रहेको दाबी गर्दै माधव नेपालले प्रचण्डलाई सीमा नाघेर नबोल्न चेतावनी

मंगलबार, २६ असार २०८०

मंगलबार, २६ असार २०८०

प्रधानमन्त्रीको सरकारी निवास समेत रहेको ललिता निवास प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफू निर्दोष रहेको दाबी गरेका छन् ।



नेपाल पत्रकार महासंघ पाल्पाले आज तनहुँमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री हुँदैमा सबै विषयको दोषी हुने र त्यसको अपजस लिनुपर्ने भन्ने नभएको जिकिर गर्दै माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत सीमा नाघेर नबोल्न चेतावनी समेत दिन भ्याए ।

‘हाड नभएको जिब्रोले झुक्याउँछ । बोल्दा ख्याल गर्नुपर्छ, जिब्रो फ्याट्ट बोल्छ र हाडभित्र लुक्न गैहाल्छ, अनि हाडले घेरिएको कपाल दुख्न थाल्छ । स्पष्टीकरण र जवाफ दिंदा दिंदै झन कपाल दुख्छ, जिब्रो आनन्दले बसेको हुन्छ । अनावश्यक टाउको दुखाउने गरी अभिव्यक्ति दिने कुरामा सचेत हुनुपर्छ’, अध्यक्ष नेपालले भने ।

ललिता निवास प्रकरणमा उचित छानबिन हुनुपर्छ, मेरो पनि नाम जोडिएको छ । मसहित धेरै पूर्व प्रधानमन्त्रीको नाम जोडिएको छ ।

अनावश्यक विवादमा तान्ने प्रयास भएको छ । म छानबिनको विरोधी होइन तर गलत प्रचार गर्न त भएन नि । उचित छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ । यसलाई छिटो टुंगो लगाउनुपर्दछ ।’

यो प्रकरणमा नाम जोडिएर आफू नआत्तिएको उल्लेख गर्दै उनले खाएको विष मात्रै लाग्ने बताए । उनले भने, ‘न्यायसंगत छानबिन हुन्छ भन्ने विश्वास छ, यसमा त म मात्रै होइन पूर्व प्रधानमन्त्रीहरू धेरैको नाम जोडिएको छ, त्यस कारणले पनि यस्ता विषयले समाजमा नकारात्मक भावना फैलाउँछन् छिटो निकास निकाल्नुपर्छ ।’ नेपालले बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा कसुर देखिएका दोषीलाई कारबाही हुनुपर्ने बताए ।

उनले सबै सरकारी जग्गाको अनियमितताबारे छानबिन गर्नुपर्ने, नेपाल ट्रष्टदेखि सबै सरकारी जग्गाको छानबिन हुनुपर्ने बताए ।

‘त्यसो भयो भने आम मान्छे डराउँछन्। जसले गर्दा अनियमितता, अतिक्रमण रोकिन्छ, र भ्रष्टाचार पनि नियन्त्रण हुन्छ’ उनले भने, नेपाल ट्रस्टको जग्गादेखि लिएर सरकारी जग्गाको हिनामिना भएको देखिएको नेता नेपालले बताए ।

उनले भने, ‘यस्ता सबै जग्गाको छानबिन भएर कारबाही भयो भने बल्ल मान्छे डराउने अवस्था आउनेछ । होइन भने अवस्था अझ बिग्रिँदै जान्छ । राज्यको सबै निकायको हालत उस्तै भएकाले सुधार गर्दै अघि बढ्नु जरुरी छ ।’

यो वा त्यो प्रकरण नभई देशव्यापी सरकारी जग्गामा भएको हिनामिनाको छानबिन गर्नसमेत वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई आफूले आग्रह गरिसकेको नेपालले बताए ।

नेता नेपालले प्रचण्ड प्रधानमन्त्री रहेको अहिलेको सरकार नै पाँच वर्ष टिक्ने दाबी गर्दै यही सरकारलाई टिकाइ रहनको लागि गठबन्धन दलभित्र छलफल चलिरहेको र पाँच वर्षसम्म यही सरकार टिकाउने गरी निचोडमा पुग्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट