सोलु दुर्घटनाबाट बचेर नयाँ जीवन पाएका पाइलट सोलुमै अस्ताए-Sutra News

सोलु दुर्घटनाबाट बचेर नयाँ जीवन पाएका पाइलट सोलुमै अस्ताए

मंगलबार, २६ असार २०८०

मंगलबार, २६ असार २०८०

३ जनाको ज्यान जाने गरी सोलुको लुक्लामा भएको विमान दुर्घटनामा घाइते भएका पाइलट चेतबहादुर (सीबी) गुरुङ चार वर्षपछि सोलुमै अस्ताएका छन् ।



२०७६ सालको नयाँ वर्षको दिन सोलुखुम्बुको लुक्ला विमानस्थलबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको
जहाज धावनमार्गबाट चिप्लेर हेलिप्याडमा बज्रिँदा ३ जनाको ज्यान गएको थियो ।

यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भएको थियो ।

सो दुर्घटना हुँदा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर (सीबी) गुरुङ । उनी घाइते भए । उनी ३ महिनासम्म अस्पतालको बेडमा बस्नुपरेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट गुरुङले उडाएको मनाङ एयरको हेलिकोप्टर आज सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ लामाजुरामा दुर्घटना हुँदा उनको निधन भएको छ ।

५५ वर्षीय गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । मंगलबार लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट १० बजेर ५ मिनेट जाँदा हेलिकोप्टर उडेको थियो । हेलिकप्टर १० बजेर १३ मिनेट सम्पर्कविहीन भएको थियो ।

मंगलबार दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक थिए । उनीहरु सोमबारमात्र लुक्ला पुगेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट