सोलुखुम्बुबाट काठमाडौंको लागि उडेको हेलिकप्टर दुर्घटनामा मृत्यु भएका सबै शव काठमाडौं ल्याइएको छ । अल्टीच्युड एयरको हेलिकप्टरमार्फत ६ वटै शव मंगलबार अपराह्न त्रिवि शिक्षण अस्पतालमा ल्याइएको हो ।
मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंको लागि उडेको मनाङ एयरको ९ एनए-एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका–५ को लामजुरा क्षेत्रमा दुर्घटना हुँदा क्याप्टेन चेतबहादुर गुरुङ र ५ जना मेक्सिकन नागरिकको मृत्यु भएको थियो ।
मृत्यु हुने मेक्सिकन यात्रुहरूमा सिफुएन्टेस जी फर्नाडो, रिंकोन इस्माइन, सिफुएन्टेस जी मारिया होजे, गोन्जालेज ओलासियो लुज र गोन्जालेस एब्रिक रहेका छन् ।
दुर्घटनास्थलमा बेनी प्रहरी चौकीबाट २ जना र किञ्जा प्रहरी चौकीबाट ४ जनाको टोली उद्धारका लागि पुगेको थियो ।