भारतमा रोजगारी गरिरहेका श्रीमान बाबुराम भुसालको निधन भएपछि गीता भुसालको काँधमा एकल अभिभावकत्वको जिम्मेवारी आइलाग्यो । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१ कपासीकी गीता भुसाललाई वृद्ध अवस्थाका सासू, ससुरा र दुई नाबालक छोराहरूको जीवन सम्भार्ने जिम्मेवारीले गर्दा विदेशीन बाध्य बनायो । उनका श्रीमान बाबुरामले गत वैशाख ७ गते रोजगारीको क्रममा भारतमै आत्महत्या गरेका थिए ।
सामान्य आर्थिक अवस्थाकी गीतालाई एकातिर अलपायुमै श्रीमान् गुमाउँदाको पीडा थियो, अर्कोतिर हुर्कंदै गरेका छोराको भविष्यले पिरोलिरहन्थ्यो । श्रीमानको काजकिरिया सकेपछि नौ वर्षका प्रदीप र १२ वर्षका दीपकलाई बाजेबजुको साथमा छाडेर दुबई पुगिन् ।
दुई छोराहरू, वृद्ध भएका सासू ससुराको परिवार खर्च चलाउने वैकल्पिक उपाय खोज्न माइती र घरपरिवारको सल्लाहमा नै उनी दुबई गएकी थिइन् । तर गएको एक महिना पनि नहुँदै उनीमाथि फेरि अर्को बज्रपात पर्यो।
उनले काममा लागेको पहिलो महिनाको तलबसमेत बुझ्न नपाउँदै मंगलबार बिहानै उनले आफ्ना दुवै नाबालक छोराको मृत्युको खबर सुन्नुपर्यो। बुद्धभूमि नगरपालिका–१ कपासी घरमा हजुरआमासँगै सुतेका उनका दुई छोराको सर्पले डस्दा मृत्यु भएको हो ।
गोरूसिंगेको पारिजात बोर्डिङ स्कुलमा पढ्ने उनीहरु सोमबार दिनभरि स्कुलमा पढेर घर गएपछि खाना खाइवरी हजुरआमासँगै सुतेका थिए । राति करिब ११ बजे टाउको दुख्ने, वाकवाकी लाग्ने, पेट दुख्ने भएपछि घरेलु प्रविधिबाट उनीहरूको उपचार थालिएको थियो । तर, केही सुधार नभएपछि गोरुसिंगेस्थित बुद्ध पोलिक्लिनिक लगियो । त्यसबेलासम्म बिहानको ४ बजिसकेको थियो । उक्त पोलिक्लिनिकले आफूले नसक्ने भन्दै तुरुन्त बुटवल लैजान सुझाव दियो ।
त्यसपछि दुवै जनालाई उपचारका लागि बुटवल लुम्बिनी प्रादेशिक अस्पताल पुर्याइयो । त्यहीँ दुवै जनाको मृत्यु भयो । मृत्यु भइसक्दासम्म बच्चाको परिवारलाई सर्पले डसेको थाहा थिएन । अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको रिपोर्ट रहेको कपिलवस्तु सर्पदंश उपचार केन्द्रले जनाएको छ ।
बालकका हजुरबुवा हजुरआमालाई भने कोठामा सर्प नदेखिएकाले सर्पले टोकेकोमा विश्वास गर्न मुश्किल भइरहेको थियो। तर सत्य त्यही नै थियो । उता, मृतकका हजुरआमा वसन्तालाई पनि अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था भने सामान्य रहेको केन्द्रले जनाएको छ ।
कुनै आमा जुन सन्तानको खुसीका लागि पतिविगोयको पीडा थामेर श्रम गर्न विदेश जान्छिन् तर त्यहीँ नै दुवै सन्तान गुमाउनु पर्दाको अवस्था कस्तो होला ? तर त्यस्तै असह्य पीडा सहेर गीता हिजोनै दुबईबाट काठमाडौँ आइसकेकी छन् ।
उनी आज भैरहवा विमानस्थलबाट घर गएकी छिन् । कपिलवस्तुको जिल्ला अस्पतालको शव गृहमा उनका छोराहरूको शव राखिएको छ । २५ दिनअघि हँसिला अनुहारमा छाडेका ती छोराहरूको अन्तिम अनुहार गीताले हेरेपछि मात्रै अन्त्येष्टिको प्रक्रिया अगाडि बढ्ने छ । छिमेकी शारदा बन्जाडेका अनुसार गीताले छोराहरूको मुख हेरेपछि अन्त्येष्टि गरिनेछ ।