सिरहामा एकजना प्रहरी जवानलाई कार्यालयमै पाता कसेर यातना दिएको भिडियो बाहिरिएको छ । यससँगै सामाजिक सञ्जालमा प्रहरी संगठनको आलोचना भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई यातना दिएका बताइएको छ । सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ ? कानै सुन्निने गरी किन पिट्नु हुन्छ ?’ ।
घटना गत मंगलबार साँझको हो । बढी डिउटी गराएको गुनासो गर्न जाँदा प्रहरी निरीक्षक हेमन्त राईले यातना दिएको पीडित प्रहरीको आरोप छ । हेमन्त राईले पाता कसेर १२ घण्टासम्म यातना दिएको पीडितलाई उद्दृत गर्दै उनका भाइ रजनिस रायले बताए ।
उनले यो घटनाविरुद्ध उजुरी पनि दर्ता गराउने तयारीमा रहेको बताए । प्रहरीले जिल्ला प्रहरी कार्यालय परिसरमा प्रहरी जवानलाई पाता कसेर राखेको भिडियोमा प्रष्ट देखिन्छ ।
यता जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता तथा डिएसपी रवीन्द्र राज पाण्डेयले जाँड रक्सी खाएर जिल्ला अदालत अगाडि स्थानीयबासिन्दालाई कुटपिट तथा दुर्व्यवहार गर्न थालेपछि समातेर ल्याइ सम्झाई बुझाई राखेको बताए । उनका अनुसार कुनै पनि कुटपिट र यातना नदिएको उनको दाबी छ । उनले भने, ‘ उनीमाथि कसैले कुटपिट गरेका छैनन् । कार्यालयमा ल्याएर सम्झाई बुझाई गरेको अवस्था हो ।’
मादक पदार्थ सेवन गरेको भने पनि तत्कालै समयमा प्रादेशिक अस्पताल सिरहामा गरेको मेडिकल टेस्ट रिपोर्टमा भने मादक पदार्थ सेवन गरेको नदेखिएको उनका भाइले दाबी गरे । प्रहरी जवान रायको घर महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ८ फुलहट्टा हो ।