अभिनेता भुवन केसीले अभिनेत्री साम्राज्ञी आरएल शाहविरुद्ध हालेको गाली बेइज्जतीको मुद्दा हारेका छन् ।
बुधबार जिल्ला अदालत काठमाडौंले चलचित्र विकास बोर्डका अध्यक्षसमेत रहेका भुवनले हालेको मुद्दामा साम्राज्ञीको पक्षमा फैसला सुनाएको हो।
साम्राज्ञीविरुद्ध भुवनले गाली बेइज्जती मुद्धा दायर गर्दै १० करोडको क्षतिपूर्ति माग गरेका थिए । तर जिल्ला अदालत काठमाडौंले दाबी नपुग्ने भन्दै साम्राज्ञीको पक्षमा फैसला गरेको हो।
केसीले २०७७ साउन ९ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए।
न्यायाधीश वासुदेव पौडेलको इजलासले साम्राज्ञी शाहविरूद्ध भुवन केसीले दिएको गाली बेइज्जती मुद्दाको दाबी नपुग्ने फैसला गरेका हुन्।
साम्राज्ञीले सामाजिक सञ्जालमार्फत तीन वर्षअघि सुटिङका क्रममा भुवन केसीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन्।
साम्राज्ञीले आफ्नो इन्स्टाग्राम अकाउन्टमा भिडियो पोस्ट गर्दै नेपाली चलचित्र उद्योगमा काम गर्ने क्रममा तीन वटा ब्यानरबाट निकै दुःख पाएको सार्वजनिक गरेकी थिइन्।
त्यसपछि केसीले ‘जुन थालमा खायो, त्यही थालमा दुलो पार्ने’ भनेर आरोप लगाएका थिए। त्यसपछि साम्राज्ञीले थप आरोपसहित केसीको नाम लिदै आफूमाथि केसीले शोषण र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।
उनले एक अवार्ड कार्यक्रममा सहभागी हुन जापान जाँदा केसीले आफूसँग गाला जोडेर बोल्न खोजेको, अङ्कमाल गरेर ह्यारेस गरेको भनेको थिइन्।