नेपालले दियो पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य, पाकिस्तानी बलरसामु नेपाली ब्याट्सम्यान निरीह-Sutra News

नेपालले दियो पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य, पाकिस्तानी बलरसामु नेपाली ब्याट्सम्यान निरीह

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

एसीसी इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तान ‘ए’ लाई १८० रनको लक्ष्य दिएको छ । टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अल आउट भएको हो ।



पाकिस्तानी बलरसामु शीर्ष क्रमका नेपाली ब्याट्सम्यानहरू निरीहजस्तै देखिए । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ७५ रन बनाए । उनले १०१ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै ७५ रन बनाएका हुन् । एसिसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले ब्याटिङ गर्दै कमजोर प्रदर्शन गरेको अवस्थामा सोमपालले स्कोर उकासेका थिए।

समूह चरणमै बलियो टोलीको सामना गरेको नेपालले केबल १६ ओभर खेलेर ७२ रन जोड्दैमा ८ विकेट गुमाएको थियो । त्यसपछि प्रतिश र ललितले नेपालको स्कोर उकासेका थिए। उनीहरुले ५८ रनको साझेदारी गरे । पाकिस्तान ‘ए’ विरुद्धको खेलमा नेपाली दुवै ओपनर चल्न सकेनन् । नेपाली ओपनर कुशल भुर्तेल ६ बल खेल्दै १ रनमा आउट भए । त्यसपछि अर्का ओपनर आशिफ शेख पनि १२ बलमा १२ रन मात्रै जोडेको अवस्थामा पबेलियन फर्किए । उनले त्यसक्रममा ३ चौका हाने ।

त्यस्तै तेस्रो क्रममा आएका अर्जुन साउद पनि २० बलमा १७ रन बनाएर आउछ भए । उनले २ चौका र १ छक्का हाने । कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक रह्यो। उनले ४ बलमा केबल ४ रन मात्रै जोड्न सके । भीम सार्कीले ४ बल सामना गरे पनि खाता नै नखोली आउट भए । उता कुशल मल्लले १८ बल खेलेर १७ रन जोड्दै बिदा भए । त्यसैगरी पवन सर्राफ पनि ४ बलमा १ रन खेलेर आउट भए । नेपालका गुलशन झा पनि १९ बलमा १३ रन बनाएर बाहिरिए ।

कसिलो बलिङ गरेको पाकिस्तानका लागि मोहम्मद वासिमले १० ओभरमाा ५१ रन दिँदै ४ विकेट लिए । अर्का बलर शाहनवाज धाहानीले १० ओभर बलिङ गर्दै ३८ रन दिएर ५ विकेट लिए । अर्को १ विकेट मुबासिर खानको नाममा रह्यो ।

यो प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । जहाँ भारत र पाकिस्तानसँगै यूएई पनि छन् । असार २८ गतेदेखि प्रतियोगिता सुरु भएको हो। दोस्रो दिन आज नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको सामना गरेको हो । पाकिस्तानको सामना गरेपछि नेपालले क्रिकेटको पावरहाउस भारतसँग भिड्ने तालिका छ । भारतको टिम एसँग नेपाली टोलीले साउन १ गते खेल्नेछ ।

दुई बलिया टोलीसँगको खेलपछि नेपाल र यूएई साउन ३ गते आमनेसामने हुने छन् । यदि चार टोली रहेको समूहबाट शीर्ष दुईमा पर्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

अर्को समूह ए मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र ओमान छन् । यो समूहबाट पनि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट