अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौंमा-Sutra News

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौंमा

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०

अमेरिकी सहायक विदशेमन्त्री डोनाल्ड लू काठमाडौं आइपुगेका छन् । उनी दक्षिण एसियाली मुलुकको भ्रमणका क्रममा काठमाडौं आइपुगेका हुन् । आजै उनले उच्चस्तरीय भेटवार्ता गर्ने कार्यतालिका छ । उनले आजै ४ बजे परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्ने कार्यक्रम रहेको छ।



यस्तै आजै साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उनी नेतृत्वको भ्रमण टोली बंगलादेश हुँदै काठमाडौं आएको हो ।

उनी नेपालको राजनीतिक नेतृत्व, उच्च सरकारी अधिकारी र नेपालको विकासका साझेदारहरूसँग परिचित हुन आएको बताइएको छ । तर उनको यो भ्रमण अमेरिकी सहयोग परियोजना एमसिसीका पक्षमा मत जुटाउनका लागि रहेको विश्लेषण गरिन्छ ।

डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका थिए । सोही क्रममा उनी नेपाल भ्रमणमा आएका हुन् । नेपालका लागि उनको यो तेस्रो भ्रमण हो ।

यसअघि उनी २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आएका थिए । संसदमा एसपीपीको विवाद चलिरहेको बेला उनले नेपाल भ्रमण गरेका थिए ।

त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन परराष्ट्र मन्त्री नारायण खड्कालगायतका अधिकारीलाई भेटेका थिए । पहिलोपटक उनी २०७८ मंसिरमा नेपाल आएका थिए ।

यस्तै आजै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् भने नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने कार्यक्रम छ ।

अमेरिकी राजदूतावासले बुधबार विज्ञप्ति जारी गरी सहायक विदेशमन्त्री लुले सरकारका नेतृत्वकर्ताहरूसँग भेटघाट गर्नुका साथै सांस्कृतिक सम्पदा स्थलहरूको अवलोकन गर्ने जनाएको थियो ।

यसैबीच बिहीबार दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने उपसहायक मन्त्री केली केइडरलिङ पनि काठमाडौँ आउँदै छन् । उनले नेपाली अधिकारी र उदीयमान नागरिक समाजका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

अमेरिकी सहायक र उपसहायक विदेशमन्त्रीको यो भ्रमण नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औँ वर्ष प्रवेश हुन लागेको सन्दर्भमा भएको जनाएको छ ।

‘कोभिड–१९, जलवायु परिवर्तन र लोकतन्त्रलाई सुदृढ गर्ने अमेरिकी राष्ट्रपति वाइडेनका उच्च प्राथमिकताका विषयलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ’, दूतावासको विज्ञप्तिमा भनिएको छ ।

सहायक विदेशमन्त्री लुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरी, नायब शिष्टाचार महापाल रेवतीरमण पौडेल र अमेरिकी दूतावासका उच्च अधिकारीले स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट