गाउँपालिकामा चाहिने थाइराइड मेशिन कर्मचारीको लगानीमा खरिद-Sutra News

गाउँपालिकामा चाहिने थाइराइड मेशिन कर्मचारीको लगानीमा खरिद

शुक्रबार, २९ असार २०८०

शुक्रबार, २९ असार २०८०
आँबुखैरेनी गाउँपालिका मातहत कार्यरत कर्मचारीले आँबुखैरेनी अस्पताललाई दश लाखभन्दा बढी मूल्यको थाइराइड मेशिन प्रदान गरेका छन् ।
गाउँपालिका कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थालगायत सबै क्षेत्रमा कार्यरत कर्मचारीले खाइपाइ आएको पारिश्रमिकबाट थाइराइड मेशिन खरिद गरी उक्त अस्पताललाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकामा दरबन्दी र करारका गरी १३५ जना कार्यरत कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।
गत जेठ ३१ गते बसेको कर्मचारीको बैठकले कर्मचारीको पारिश्रमिकबाट मेशिन खरिद गरी अस्पताललाई प्रदान गर्ने विषयमा सर्वसम्मत निर्णय भएपछि सहयोग गरेको उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत शर्मा लगायतका कर्मचारीले गाउँपालिकाका अध्यक्ष शुक्र चुमान र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा धनबहादुर क्षेत्रीलाई उक्त मेशिन हस्तान्तरण गरेका हुन् । अस्पतालमा थाइराइड परीक्षण गर्ने मेशिन नहुँदा थाइराइडका बिरामी उपचारका लागि अन्यत्र धाउनु परेकाले मेशिन आएपश्चात् सहज हुने विश्वास गाउँपालिकाले गरेको छ ।
गाउँपालिकाभित्र धेरै थाइराइडका बिरामी रहेकाले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता रहेपछि कर्मचारीले मिलेर मेशिन खरिद गरी अस्पताललाई दिएपछि उपचारमा सहज भएको छ ।
गाउँपालिकाभित्रका नागरिकले सहज रूपमा घरदैलोमा सेवा पाउने हुँदा सबै कर्मचारीको सकारात्मक सहयोगबाट मेशिन खरिद कार्य सहज हुने उनले बताए । कार्यालय सहयोगी, सुरक्षा गार्ड, सरसफाइ क्षेत्रमा कार्यरत सहयोगी कर्मचारीलाई यस अभियानमा सहयोग गर्न अनिवार्य नगरिए पनि स्वतःस्फूर्त आफूले सकेको आर्थिक सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट