आइएमई लाइफ इन्सुरेन्सको आइपीओ शनिबार बाँडफाँड भएको छ । यसमा गोलाप्रथामार्फत ९ लाख ६० हजार जनाले सेयर पाएका छन् ।
यो आइपीओमा कुल ११ लाख ९५ हजार ९३२ जनाले आवेदन दिएकामा ११ लाख ८८ हजार ९९६ जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बिक्री प्रबन्धक सिभिल क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार २१ गतेदेखि २५ गतेसम्म अंकित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थप गरेर प्रतिकित्ता २३६.९१ रुपैयाँको दरले सर्वसाधारणलाई कुल ९६ लाख कित्ता सेयर बिक्री गरेको थियो । कम्पनीले कुल १ करोड २० लाख कित्तामध्ये १२ लाख कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई उसअघि नै बाँडफाँट गरिसकेको छ ।
त्यस्तै, ६ लाख कित्ता सेयर कर्मचारी र ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् ।