संक्रान्तिकै दिन साउने सोमबार : बिहान ३ बजेदेखि चारै ढोका खुला रहने-Sutra News

संक्रान्तिकै दिन साउने सोमबार : बिहान ३ बजेदेखि चारै ढोका खुला रहने

आइतबार, ३१ असार २०८०

आइतबार, ३१ असार २०८०

पशुपतिनाथ मन्दिरमा साउनको पहिलो सोमबार आउने दर्शनार्थीको व्यवस्थापनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ ।



सुरक्षा, स्वयंसेवक परिचालन, दर्शन व्यवस्थापन, स्वास्थ्य शिविर, खानेपानीलगायतका तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

सौरमास अनुसार साउनको पहिलो सोमबार साउन १ गते परेको छ । साउनको सोमबार पशुपति क्षेत्रमा लाखौँ भक्तजन आउने भएकाले बिहान तीन बजेदेखि नै चारै ढोका खुला गरेर भक्तजनलाई दर्शन गराइने कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशंकर पराजुलीले जानकारी दिए ।

जुन ढोकाबाट दर्शनार्थी प्रवेश गर्छन् सोही ढोकाबाट निस्कने गरी व्यवस्था मिलाइएको पनि उनले सुनाए । प्रहरी वृत्त गौशालाको नेतृत्वमा जनपद र सशस्त्र प्रहरीले पशुपति क्षेत्रमा सुरक्षा दिने भएका छन् । महाशिवरात्रि र तीजको जस्तै गरी सुरक्षालगायत व्यवस्थापन गरिएको कोषले जनाएको छ ।

साउनको सोमबार सात हजार पाँच सयभन्दा कमको विशेष पूजा नगराइने पनि महाशाखा प्रमुख पराजुलीले बताए । यसैगरी वासुकीनाथको मन्दिरमा तीन हजार एक सयभन्दा कमको विशेष पूजा गराइने छैन । साउने सोमबारका अवसरमा स्काउट र स्थानीय क्लबले पनि स्वयंसेवक खटाउने तयारी गरेका छन् । साउनको सोमबार पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट