अभिनेता सारुक ताम्राकारको आत्महत्यापछि उनले न्याय पाउनुपर्छ भन्दै आवाज उठ्न थालेको छ ।
आइतबारमात्रै कलाकार संघले अभिनेता ताम्राकारले न्याय पाउनुपर्ने भन्दै विज्ञप्ति जारी गरेको थियो । यसअघि अभिनेत्रीद्वय सृष्टि श्रेष्ठ र मनिला जोशीले पनि अभिनेता ताम्राकारले न्याय पाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाएका थिए ।
त्यतिमात्र हैन हिजो त सोधपुछको लागि ‘ह्यासट्याग माया’का निर्माता र निर्देशक प्रहरी कार्यालय मालीगाउँमा समेत पुगेका थिए ।
यस्तोमा सिनेमा ‘जय हो’को ‘जोमसोमको डाँडैमा’ बोलको गीत रिलिजको कार्यक्रममा यस सिनेमाका मुख्य कलाकार केकी अधिकारी, अर्पण थापा र सलोन वस्नेतलाई पनि सारुकको मृत्युलाई लिएर प्रश्न गरिएको थियो ।
नायिका केकी अधिकारी बोल्न नै डराइन ।
‘आज म केही कुरा बोल्दिम्ला भोलि त्यही कुराले अर्को मानिसको मेन्टल हेल्थमा र उहाँको परिवारमा असर पर्ला’ भन्दै उनी प्रश्न बाट तर्किन चाहिन् ।
साथै उनले नहुनु पर्ने चिज भयो र त्यो नभएको भए हुन्थ्यो भन्दै यो कुरा कानुनी रुपमा अघि बढ्नु पर्ने राय प्रकट गरिन् । उनले जसरी अन्य आत्महत्याको केसलाई अनुसन्धान गरिन्छ त्यसरि नै यसलाई नि गर्न अनुरोध गरिन् ।
अभिनेता अर्पण थापाले आफूलाई केहि थाहा नभएको बताए ।
त्यही कुरा सलोनलाई सोध्दा उनले ‘हरेक व्यक्तिले आफ्नो एउटा छुट्टै कथा बोकेर हिड्छ । सबैको अगाडि आँउदैन होला तर सबैले केहि न केहि भोगिनै रहेका हुन्छन्’ भन्दै सारुकको कुरा गर्दा ‘नजिकबाट त बुझ्न पाएको छैन तर जति देखेको छु उ एकदम राम्रो मान्छे थियो भन्न सक्छु’ भने।
उनले यसको सत्य कुरा कानुनी रुपमा अघि आवोस् र सबैलाई छर्लङ्ग होस् भन्ने माग राखे।